‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध, स्टारकास्ट थप बलियो बन्दै

0 Shares

काठमाडौं । आगामी ऐतिहासिक कथामा आधारित फिल्म महाराजधिराज मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। केही दिनअघि अभिनेत्री पूजा शर्मा लाई अनुबन्ध गरेको निर्माण टिमले आइतबार सुशीललाई औपचारिक रूपमा भित्र्याएको हो।

निर्माण पक्षका अनुसार सुशीललाई फिल्ममा मुख्यमध्ये एक महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ। नेपाली फिल्म क्षेत्रमा उनलाई अन्डररेटेड अभिनेता मानिँदै आएको छ।

फिल्मको कास्टिङ अन्तिम चरणमा पुग्दै गर्दा लाइनअप अझ बलियो बन्दै गएको छ। यसअघि नै मुख्य भूमिकामा पुष्प खड्का अनुबन्ध भइसकेका छन्। पिरियड ड्रामाको झल्को दिने यो फिल्मको छायांकन वैशाख दोस्रो सातापछि सुरु गर्ने तयारी छ।

निर्देशक परिच्छेद सेन को निर्देशनमा बन्न लागेको फिल्ममा सुशील, पुष्प र पूजा बाहेक केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्टआशा पौडेल लगायतका कलाकारको अभिनय रहनेछ।

निर्देशक सेनको ड्रीम प्रोजेक्ट मानिएको यस फिल्ममा करिब ८० जना कलाकार रहनेछन्। निर्माण टिमले पुराना र नयाँ पुस्ताको मिश्रणमार्फत बलियो स्टारकास्ट तयार गरेको जनाएको छ।

फिल्मका प्रस्तुतकर्ता विराज विष्ट ले बलियो कलाकार लाइनअपअनुसार फिल्म पनि त्यही स्तरको हुने बताएका छन्।

छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा आकर्षक स्थानहरूमा फिल्म खिचिनेछ। फिल्मको छायांकन नवराज थापा ले गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालि को ब्यानरमा निर्माण हुने फिल्मको लेखन निर्देशक सेन स्वयंले गरेका हुन्। निर्मातामा रवि खड्का, शिवराज पौडेलटोपेन्द्र विष्ट रहेका छन्।

फिल्म आगामी फूलपातीमा प्रदर्शन गर्ने लक्ष्यसहित अघि बढाइएको निर्माण टिमले जनाएको छ।

सम्बन्धित समाचार

सबै