‘कमेडी नाइट विथ च्याम्पियन्स’को दोस्रो सिजन सुरु, नयाँ सेट र नयाँ ऊर्जा सहित दर्शकमाझ

0 Shares

काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्स ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन औपचारिक रूपमा सुरु गरेको छ। निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औं एपिसोडलाई ‘च्याप्टर–२’ घोषणा गर्दै नयाँ सिजनको सुरुवात गरिएको जनाएको हो।

निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारी का अनुसार दर्शकको अत्यधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शो कुनै ब्रेक बिना निरन्तर प्रसारण गरिएको हो।

उनले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको बताउँदै दर्शकलाई नियमित रूपमा नयाँ स्वादको हास्य सामग्री दिने उद्देश्य रहेको बताए।

दोस्रो सिजनको पहिलो एपिसोडमा आगामी वैशाख २५ गते प्रदर्शनमा आउन लागेको फिल्म मालती मंगले को निर्माण टिम तथा कलाकार विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, रामकृष्ण ढकाल, प्रकु पाण्डेय, सागर ज्ञवालीऋतिका श्रेष्ठ को उपस्थिति रहेको थियो।

शोमा पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्कीसुमन कोइराला ले हास्य प्रस्तुति दिएका थिए।

विशेषगरी पवन भट्टराईले अभिनेता विजय बरालकै अगाडि फिल्म कबड्डी को चर्चित पात्र ‘बीके’ बनेर प्रस्तुति दिँदा दर्शकसँगै विजय बराल स्वयं पनि हाँस्न बाध्य भएका थिए।

त्यस्तै, प्रभात लामा र कर्मा लामाको ‘सुदन–सुशीला’ डुओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भरतमणि पौडेल र सुमन कोइरालाले आफ्नै साथी मेक्सम गौडेललाई रोस्ट गर्दै दिएको प्रस्तुति पनि शोको आकर्षण बनेको छ।

निर्माण टिमका अनुसार आगामी एपिसोडहरूमा सुमन कार्की, सजन श्रेष्ठ र मेक्सम गौडेलले पनि प्रस्तुति दिनेछन्। यसपटक कलाकार टिमबाट सन्तोष थापा बाहिरिएका छन् भने उनको स्थानमा कर्मा लामा नियमित प्रस्तोताका रूपमा जोडिएका छन्।

यसअघि सानो भूमिकामा देखिँदै आएका कर्मा लामा ‘सुदन–सुशीला’ र ‘चक्रे–मिलन’ जस्ता पात्रमार्फत चर्चामा आएपछि उनलाई नियमित कलाकारका रूपमा अनुबन्ध गरिएको निर्देशक विशाल भण्डारीले बताएका छन्।

शोको स्क्रिप्ट लेखनमा निश्चल अर्यालप्रतीक अधिकारी पनि संलग्न छन्। कार्यक्रममा सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ। नयाँ रंगरोगन र फूलसहित सेटलाई अझ आकर्षक बनाइएको निर्माण टिमले जनाएको छ।

दीपाश्री निरौला अध्यक्ष रहेको थ्री प्रोडक्सन को प्रस्तुतिमा निर्माण भएको शो हरेक मंगलबार राति ९ बजे हिमालय टिभी मा प्रसारण हुँदै आएको छ। कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानलमार्फत पनि सार्वजनिक भइरहेको छ।

सम्बन्धित समाचार

सबै