काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना निर्देशित नयाँ नेपाली फिल्म पार्वती को छायांकन सम्पन्न भएको छ। नीता ढुङ्गाना फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्मको सुटिङ निर्धारित समयभन्दा अगावै सकिएको निर्माण टिमले जनाएको छ।
गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, मिर्सा गाउँमा शुभमुहूर्त गर्दै सुरु गरिएको फिल्मको छायांकन केवल २२ दिनमै पूरा गरिएको हो। निर्माण पक्षले एक महिनाको समयसीमा राखे पनि निर्देशक नीताको सक्रियता र कलाकारहरूको समर्पणका कारण ८ दिनअघि नै सुटिङ सकिएको बताइएको छ।
फिल्ममा मुख्य भूमिकामा निर्देशक स्वयं नीता ढुङ्गाना देखिएकी छन्। उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा पनि निर्देशक नीताले नै तयार पारेकी हुन् भने स्क्रिप्ट लेखन शिवम् अधिकारी ले गरेका छन्।
फिल्मको डीओपी सुदीप बराल हुन्। क्रियटिभ निर्देशकका रूपमा सरोज अधिकारी रहेका छन्। ‘कार्टुन क्रु’मार्फत चर्चामा आएका सरोजले पहिलोपटक फिल्ममा क्रियटिभ निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।
फिल्ममा प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन् भने निर्माता हरिहर अधिकारी हुन्। सम्पादन साहिल खान ले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेन को रहेको छ।
निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउनेछ। तय गरिएको प्रदर्शन मितिका कारण पनि निर्माण टिमले छायांकनलाई तीव्र गतिमा सम्पन्न गरेको हो।