काठमाडौँ । नेपाली फिल्म ‘मितज्यू’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति बनाएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षले जनाएको छ।
निर्माता जनक घर्ती मगरका अनुसार यी ६ देशका प्रदर्शन अधिकार औपचारिक रूपमा बिक्री भइसकेका छन्। हङकङका लागि पाथिभरा इन्टरटेनमेन्ट, जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार खरिद गरेका हुन्।
निर्माण टिमले अन्य देशसँग पनि प्रदर्शन अधिकारका लागि छलफल भइरहेको जनाएको छ।
दयाहाङ–सौगातको स्टार कास्ट, अन्तर्राष्ट्रिय आकर्षण
फिल्ममा दयाहाङ राई, सौगात मल्ल र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको अभिनय रहेको छ। तेरियाको यो पहिलो फिल्म भएकाले पनि ‘मितज्यू’ सुरुदेखि नै चर्चामा रहँदै आएको छ।
फिल्मका सार्वजनिक गीत ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएका छन्। टिजर र गीतहरूले छोटो समयमै चर्चा बटुल्न सफल भएका छन्।
फिल्म ग्रामीण परिवेशमा आधारित छ। दयाहाङ र सौगातसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु)लगायत कलाकारको अभिनय रहेको छ।
तेरिया मगरले यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि फिल्ममा समावेश गरिएको छ।
निर्देशन अनिल बुढा मगरले गरेका हुन् भने निर्माता जनक घर्ती मगर हुन्। लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले स्वर दिएका छन्।
मुख्य सहायक निर्देशन फिरोज खड्काले गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।