काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’लाई बादी समुदायले आफ्नो वास्तविक कथा देखाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
काठमाडौँमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बादी समुदायकी अभियन्ता देवीसरा वादीले फिल्मले आफ्नो समुदायको भावनामा ठेस नपुर्याएको बताइन्। उनले फिल्म हेरेपछि आपत्ति जनाइएको केही शब्द हटाइएकोप्रति निर्माण पक्षलाई धन्यवाद समेत दिइन्।
“हामीले फिल्म हेरेका छौँ। केही शब्दमा हाम्रो आपत्ति थियो, निर्माण पक्षले हटायो। यसले हाम्रो भावनामा ठेस पुर्याएको छैन,” उनले भनिन्। उनका अनुसार फिल्मले उल्टै समुदायको सङ्घर्ष र विद्रोहको कथा देखाएको छ।
उनले फिल्मले अधिकारका लागि लड्ने प्रेरणा दिएको पनि बताइन्।
बादी समुदायका अभियन्ता हिक्मत बादीले पनि फिल्ममा समुदायको भावनामा ठेस पुग्ने कुनै कुरा नरहेको स्पष्ट पारे। “यो तराईको आमाको कथा हो। आपत्ति भएको शब्द हटेपछि अब कुनै समस्या छैन,” उनले भने।
त्यस्तै, अर्की अभियन्ता रमा बादीले फिल्मलाई समुदायको संघर्ष र आमाको कथाका रूपमा व्याख्या गर्दै यसले प्रेरणा दिने बताइन्।
पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्धर्व बादीलगायतले पनि फिल्म हेरेपछि आपत्तिजनक दृश्य वा संवाद नरहेको बताएका छन्।
फिल्म ‘लालीबजार’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिँदै सबै दर्शकले हेर्न मिल्ने गरी पास गरिसकेको छ।
यसअघि पनि बादी समुदायको कथामा आधारित सामग्रीहरू जस्तै ‘पण्डित बाजेको लौरी’ फिल्म तथा ‘नथिया’ र ‘ऐलानी’ उपन्यासहरू सार्वजनिक भइसकेका छन्।
निर्माण पक्षको प्रतिक्रिया
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय कुमार इङ्नामले फिल्मलाई अवरोध गर्ने प्रयासले समग्र फिल्म उद्योगमा नकारात्मक असर पर्ने बताएका छन्।
संघले फिल्म निर्माणमा करोडौँको लगानी, सयौँ प्राविधिक र कलाकारको वर्षौँको मेहनत हुने भएकाले प्रदर्शन रोक्ने प्रयासले लगानीकर्ता र सर्जकको मनोबल कमजोर बनाउने चेतावनी दिएको छ।
संघका अनुसार राज्यको आधिकारिक निकायले अनुमति दिइसकेको अवस्थामा फिल्म रोक्ने प्रयासले सिर्जनशीलता र स्वतन्त्र अभिव्यक्तिमा असर पार्न सक्छ।
संघले ‘लालीबजार’लाई निर्बाध रूपमा प्रदर्शन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
फिल्मको प्रदर्शन मिति आगामी वैशाख १८ गते तोकिएको छ।