काठमाडौँ । निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षकसँगै थिम पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा एक महिला बिहानको समयमा झोला बोकेर एकान्त बाटोमा हिँडिरहेको देखिन्छ। दृश्यले फिल्म गम्भीर र रहस्यमय कथावस्तुमा आधारित हुन सक्ने संकेत दिएको छ। पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति कौतुहलता बढेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायांकन आगामी वैशाख २७ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। तर फिल्मका कलाकारहरूको नाम भने हालसम्म गोप्य राखिएको छ।
निर्माण टिमले कलाकार सार्वजनिक नगरी दर्शकमा उत्सुकता कायम राख्ने रणनीति अपनाएको देखिन्छ।
फिल्मका प्रस्तुतकर्ता राजन दुलाल हुन्। निर्माणमा उग्रसेन ढुंगाना र सुरज थापा रहेका छन्।
फिल्मको कथा निर्माता ढुंगानाले नै लेखेका हुन् भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन्।
‘अक्षरा’ निर्देशक पौडेलको डेब्यु निर्देशन फिल्म हो। यसअघि उनले दर्जनौँ नेपाली फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।
लामो समयको अनुभवपछि उनले निर्देशनतर्फ कदम बढाउँदै यो फिल्ममार्फत आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका हुन्।