हरि लम्सालको निर्देशन डेब्यु ‘बा : एक योद्धा’ भदौ १९ मा रिलिज हुने

0 Shares

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ।

फिल्मलाई कुशे औंसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा रिलिज गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।

हरि लम्सालको निर्देशनमा बनेको यो फिल्म उनको निर्देशन डेब्यु हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय गीत दिएका लम्सालले यसै फिल्ममार्फत पहिलो पटक फिल्म निर्देशन गरेका हुन्।

फिल्मको कथा तथा पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।

फिल्ममा झरना थापा, सुहाना थापादिव्यदेव पन्त प्रमुख भूमिकामा छन्।

विशेष कुरा के छ भने झरना र सुहाना वास्तविक जीवनमा आमा–छोरी हुन् र फिल्ममा पनि उनीहरू सोही भूमिकामा देखिनेछन्। यो पहिलो पटक उनीहरूले एउटै फिल्ममा स्क्रिन शेयर गरेका हुन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्।

फिल्मले नेपाली समाजमा बुबाको भूमिका, त्याग, संघर्ष र जिम्मेवारीलाई केन्द्रमा राख्दै उनलाई ‘योद्धा’का रूपमा प्रस्तुत गर्नेछ। ग्रामीणदेखि शहरी समाजसम्मका बाबु–छोराछोरी सम्बन्धलाई भावनात्मक रूपमा चित्रण गर्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता चर्चित फिल्म खिचिसकेका छन्।

मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्।

निर्माण टिमका अनुसार फिल्मले सामाजिक कथावस्तुमा आधारित भावनात्मक ड्रामा प्रस्तुत गर्नेछ। आर्टिस्टिक इन्टरटेनमेन्टले यसलाई दर्शकका लागि मनोरञ्जनसँगै सन्देश दिने फिल्मका रूपमा प्रस्तुत गर्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै