‘१२ गाउँ २’ मा समीर भट्टको जोडी बनिन् कृशु शाही ‘काफिया’

0 Shares

समीर भट्ट अभिनीत आगामी फिल्म १२ गाउँ २ मा कृशु शाही ‘काफिया’ले शीर्ष अभिनेत्रीको भूमिका निभाउने भएकी छन्। निर्माता तथा निर्देशक विराज भट्ट ले सामाजिक सञ्जालमार्फत फिल्मकी लिड हिरोइनबारे औपचारिक घोषणा गरेका हुन्।

कृशु चर्चित फिल्म वितरक गोविन्द शाही की छोरी हुन्। गोविन्दले आफ्नी छोरीकै नामबाट ‘काफिया फिल्म्स’ ब्यानर सञ्चालन गर्दै आएका छन्। १२ गाउँ २ को वितरणको जिम्मा पनि स्वयं गोविन्द शाहीले लिएका छन्।

लिड अभिनेत्री सार्वजनिक गर्दै विराज भट्ट ले लेखेका छन्, “फिल्म क्षेत्रमा पहिलो पटक ‘१२ गाउँ २’ मार्फत पाइला टेक्दै कृशु शाही। उहाँलाई फिल्म क्षेत्रमा स्वागत छ। जय नेपाल, जय नेपाली फिल्म!”

फिल्ममा समीर भट्ट र कृशुबीच अनस्क्रिन रोमान्स देख्न पाइनेछ। अभिनेत्रीको रूपमा पहिले नै अनुबन्ध भइसके पनि निर्माण टिमले सोमबार मात्रै औपचारिक जानकारी सार्वजनिक गरेको हो।

कृशुले यही फिल्मका लागि चार वर्षदेखि अभिनय र नृत्य प्रशिक्षण लिँदै आएको उनका बुवा गोविन्द शाही ले बताएका छन्। गोविन्द शाही र विराज भट्ट बीचको सहकार्य पुरानो फिल्म कहाँ छौं कहाँ देखि निरन्तर रहँदै आएको छ।

आगामी दशैंमा प्रदर्शन तयारीमा रहेको १२ गाउँ २ को छायांकन २३ वैशाखदेखि सुरु हुने जनाइएको छ।

सम्बन्धित समाचार

सबै