जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यु’ अहिले प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ। पुरानो मितेरी साइनो र सम्बन्धको गहिराइ बोकेको यो फिल्मले नेपाली समाजमा बिस्तारै हराउँदै गएको ‘मित’ परम्परालाई पुनः सम्झाउने प्रयास गरेको देखिन्छ। पछिल्लो समय ‘मित’ शब्द नै कम सुनिन थालेको सन्दर्भमा यो फिल्मले त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
करिब ८ वर्षअघि निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले यस फिल्मको परिकल्पना गरेका थिए। सुरुदेखि नै अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा राख्ने योजना बनाइएको थियो। कथा मन पराए पनि व्यस्तता र समय अभावका कारण तत्काल सहकार्य हुन सकेन। यसबीचमा टोलीले ‘घरज्वाई’ निर्माण गर्यो, र त्यसको दुई वर्षपछि पुनः ‘मितज्यु’को स्क्रिप्टलाई जीवन दिइयो।
यसपटक भने दयाहाङ राईले समय दिए, र अन्ततः फिल्ममा सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देलसहितको बलियो टिम तयार भयो। फिल्मका गीतहरूले यतिबेला निकै चर्चा पाइरहेका छन्, विशेषगरी ‘गैराघरे साइँली’ले दर्शकमाझ लोकप्रियता कमाइरहेको छ। निर्माण टिम यतिबेला प्रचार–प्रसारमा सक्रिय छ।
फिल्मको कथाबारे दयाहाङ राई भन्छन्, “यो मूलतः सम्बन्धहरूको कथा हो—परिवार, मित्रता र पेशागत जीवनको। गाउँदेखि शहरसम्मको यात्रामा तीन जना चालकहरूको जीवनमार्फत कथा अघि बढ्छ।” उनी, सौगात मल्ल र शिशिर वाङ्देलले गाडी चालकको भूमिका निभाएका छन्, जहाँ व्यक्तिगत संघर्ष र जिम्मेवारीबीचको द्वन्द्व देखाइएको छ।
टिजर र ट्रेलरले कथा पूर्ण रूपमा नखोल्ने भन्दै उनले दर्शकलाई फिल्म हेरेपछि मात्र पात्रहरूको गहिराइ बुझ्न आग्रह गरेका छन्। आफ्नो अभिनयबारे उनी भन्छन्, “म पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु। ‘मितज्यु’मा मेरो पात्र मभन्दा फरक भए पनि यथार्थसँग जोडिएको छ।”
सौगात मल्लसँगको सहकार्यबारे उनले प्रतिस्पर्धाभन्दा फरक उद्देश्य र कथावस्तुले सम्बन्ध निर्धारण गर्ने बताएका छन्। नवअभिनेत्री टेरिया मगरसँगको अनुभव पनि सकारात्मक रहेको उनले उल्लेख गरे।
दयाहाङका अनुसार, “कलाकारका लागि नयाँ वा पुरानो भन्ने हुँदैन, स्क्रिप्ट र कास्टिङले आवश्यक भूमिका निर्धारण गर्छ।”
व्यक्तिगत जीवनमा ‘मित’ नलगाए पनि समाजमा यसको महत्वबारे जानकार रहेको बताउँदै उनले भने, “पहिले झगडा मिलाउन ‘मित’ लगाउने चलन थियो। अहिले पनि यसलाई विभिन्न रूपमा बुझ्न सकिन्छ—राजनीतिक सहकार्य वा गठबन्धन जस्तै।”
भावनात्मक कथा, सशक्त अभिनय र सांस्कृतिक सन्देश बोकेको ‘मितज्यु’ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।