अर्को सफल चलचित्र दिँदै दयाहाङ र सौगात?

0 Shares

नेपाली सिनेमाका दुई चर्चित र लोकप्रिय अभिनेता दयाहाङ राईसौगात मल्ल फेरि एकपटक सँगै पर्दामा देखिने भएका छन्। फिल्म ‘मितज्यू’ यही जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।

यी दुई कलाकार नेपाली फिल्म उद्योगमा ‘सदाबहार’ र सबैभन्दा बढी रुचाइएका अभिनेतामध्ये मानिन्छन्। दर्शकको निरन्तर रुचि र सफल सहकार्यका कारण उनीहरू प्रायः मेकरको पहिलो रोजाइमा पर्ने गरेका छन्।

यसअघि ‘लुट’ र ‘कबड्डी’ जस्ता सफल फिल्ममार्फत यो जोडीले दर्शकको मन जितिसकेको छ। निर्माण टिमका अनुसार ‘मितज्यू’मा पनि उनीहरूबीचको टकराव र द्वन्द्व नै मुख्य आकर्षण हुनेछ।

फिल्मको पोस्टर र टिजरमा दयाहाङ र सौगातलाई एकअर्काको विपरीत चरित्रमा देखाइएको छ। उनीहरू सँगै रहन्छन् तर मिल्न नसक्ने सम्बन्धमा प्रस्तुत भएका छन्, जसले दर्शकलाई मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।

निर्माता जनक घर्ती मगरका अनुसार, “दयाहाङ र सौगातको यो केमिस्ट्री दर्शकका लागि विशेष अनुभव हुनेछ। यो फिल्म उनीहरूको सहकार्यमा स्मरणीय बन्नेछ।”

‘मितज्यू’ का निर्देशक अनिल बुढा मगर हुन् भने निर्माण जनक घर्ती मगरले गरेका हुन्।

फिल्ममा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापास्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ।

तेरियाको यो डेब्यु फिल्म पनि हो, जसलाई थप विशेष मानिएको छ।

फिल्मको सम्पादन लोकेश बज्राचार्य, छायांकन शिशिर विष्णु के र संगीत श्रीकृष्ण बम मल्लले गरेका छन्।

फिल्मलाई आर आर फिल्मस् ले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै