अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफू चलचित्र विकास बोर्ड को आगामी अध्यक्ष बन्ने चर्चा पूर्ण रूपमा अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमा फैलिएको अफवाहप्रति प्रतिक्रिया दिँदै उनले आफूलाई उक्त पदमा कुनै रुचि नभएको स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जालमा ‘आगामी अध्यक्ष खगेन्द्र लामिछाने’ भन्ने दाबी सहित भिडियो र पोस्टरहरू फैलिन थालेपछि आफूलाई बधाई दिने फोन र सन्देशसमेत आएको उनले उल्लेख गरेका छन्। तर, उनले यसलाई अनावश्यक हल्ला भन्दै यस्ता प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक अपील जारी गर्दै लामिछानेले आफ्नो जीवन साहित्य, रंगमञ्च र चलचित्र क्षेत्रमै समर्पित रहेको बताएका छन्। उनले लेखनदेखि अभिनय र निर्माणसम्मको यात्रा यही क्षेत्रमा बिताउने चाहना दोहोर्याएका छन्।
उनले आफू कलाकार, लेखक, निर्माता र निर्देशकको रूपमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा चलचित्र क्षेत्र र निर्माताको हितका लागि काम गरिरहेको पनि बताएका छन्।
“मेरो मनले जे भन्यो, मैले त्यही गरेँ,” भन्दै उनले आफू कहिल्यै कला र साहित्य छोडेर अन्य क्षेत्रमा नजाने स्पष्ट पारेका छन्।
यसैबीच, सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति सम्बन्धी व्यवस्था परिवर्तन गरेपछि चलचित्र जाँच समितिका केही पदाधिकारी पदमुक्त भएका छन्। तर चलचित्र विकास बोर्डको वर्तमान कार्यसमिति भने यथावत रहेको छ। हालका अध्यक्ष दिनेश डीसीको कार्यकाल आउँदो भदौसम्म कायम रहनेछ।