काठमाडौं ।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६ आगामी जेठ १३ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। महोत्सव आयोजकले यस वर्षका अन्तर्राष्ट्रिय जुरी, नेपाल पानोरमा जुरी तथा ‘काठमाडौं डक ल्याब २०२६’ का अन्तर्राष्ट्रिय मेन्टरहरूको नाम सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय जुरीको नेतृत्व भारतकी चलचित्र प्रोग्रामर दीप्ति डी’कुन्हा ले गर्नेछिन्। मुम्बईस्थित उनी समकालीन भारतीय तथा दक्षिण एसियाली फिल्म क्षेत्रकी परिचित व्यक्तित्व हुन्। उनले सन् २०२३ र २०२४ मा मुम्बई चलचित्र महोत्सव मा कला निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्। साथै भेनिस चलचित्र महोत्सव, लोकार्नो चलचित्र महोत्सव, कान्स डाइरेक्टर्स फोर्टनाइट र रेड सी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जस्ता प्रतिष्ठित महोत्सवसँग उनले लामो समयदेखि सहकार्य गर्दै आएकी छन्।
थाइल्यान्डकी फिल्म अभिलेखविद् तथा प्रोग्रामर चालिदा उआबुमरुङ्जित पनि अन्तर्राष्ट्रिय जुरीमा रहेकी छन्। उनी थाइ सर्ट फिल्म एन्ड भिडियो फेस्टिभल की संस्थापक सदस्यमध्ये एक हुन्। सन् २०१९ देखि उनी थाइल्यान्ड फिल्म आर्काइभ की निर्देशकका रूपमा कार्यरत छिन्। प्रयोगधर्मी फिल्म र वृत्तचित्र निर्माणमा समेत उनको सक्रिय उपस्थिति रहँदै आएको छ।
इटालीका लुका बिच पनि अन्तर्राष्ट्रिय जुरीमा समावेश भएका छन्। उनले सन् १९९२ मा फिल्मोन्टाग्ना पर्वतीय चलचित्र महोत्सव स्थापना गरेका थिए, जुन अहिले ३४औँ संस्करणमा पुगेको छ। उनी सेर्भिनो सिनेमाउन्टेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव का कलात्मक सहनिर्देशकसमेत हुन्।
नेपाली साहित्यकार कुमार नगरकोटी पनि अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा रहेका छन्। समकालीन नेपाली साहित्यका प्रयोगशील लेखकका रूपमा परिचित नगरकोटीका सिर्जनाले युवा पुस्तामाझ विशेष प्रभाव पारेका छन्। उनका कोमा, ए पोलिटिकल सेक्स र झ्यालिञ्चा जस्ता नाट्यकृतिले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा पाएका छन्।
नेपाल पानोरमा जुरीमा निर्देशक नवीन चौहान, एलायन्स फ्राँसे काठमाडौं की संस्कृति तथा सञ्चार संयोजक लुसी दे बारोस र फिल्म समीक्षक रीना मोक्तान चयन भएका छन्।
यसैबीच, काठमाडौं डक ल्याब २०२६ का लागि तीन अन्तर्राष्ट्रिय मेन्टरको पनि घोषणा गरिएको छ। पाकिस्तान/क्यानडाकी फिल्मकर्मी अनम अब्बास, भुटानी वृत्तचित्र निर्देशक अरुण भट्टराई र भारतीय वृत्तचित्र निर्देशक सर्वनिक कौर मेन्टरको सूचीमा रहेका छन्।
अनम अब्बास शोगल्र्स अफ पाकिस्तान र दाग दाग उजाला जस्ता वृत्तचित्रका लागि परिचित छिन्। उनले निर्माण गरेको इन फ्लेम्स सन् २०२३ मा कान्स चलचित्र महोत्सव मा प्रिमियर भएको थियो।
अरुण भट्टराई एजेन्ट अफ ह्यापिनेस, द नेक्स्ट गार्डियन र माउन्टेन म्यान जस्ता वृत्तचित्रका निर्देशक हुन्। उनको पछिल्लो फिल्म एजेन्ट अफ ह्यापिनेस सनडान्स चलचित्र महोत्सव मा ग्रान्ड जुरी पुरस्कारका लागि मनोनयनमा परेको थियो।
त्यस्तै, सर्वनिक कौर अगेन्स्ट द टाइड र सोज : ए ब्यालेड अफ म्यालडिज जस्ता वृत्तचित्रमार्फत परिचित छिन्। उनले समुद्र, भूमि, पहिचान, जलवायु र समुदायबीचको सम्बन्धलाई केन्द्रमा राखेर दीर्घकालीन अवलोकनात्मक वृत्तचित्र निर्माण गर्दै आएकी छन्।