काठमाडौँ :
आजदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म लालीबजार ले प्रदर्शनअघि नै उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । बिहीबार साँझ राजधानीमा आयोजित भव्य प्रिमियर शोपछि कलाकार, राजनीतिज्ञ, फिल्मकर्मी तथा बादी समुदायका अभियन्ताले फिल्मको खुलेर प्रशंसा गरेका हुन् ।
मह जोडीका रूपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ले फिल्मको कथा, निर्देशन र अभिनय पक्षको उच्च मूल्यांकन गरे ।
मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’लाई “पूर्ण फिल्म” को संज्ञा दिँदै नेपाली समाजको संवेदनशील कथा अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताए ।
“आमा–छोरीको सम्बन्धलाई यति मार्मिक ढंगले प्रस्तुत गरिएको छ कि मन छोएर जान्छ । सबै पक्षमा फिल्म उत्कृष्ट छ । १० मा १० नम्बर दिन लायक फिल्म बनेको छ,” उनले प्रतिक्रिया दिए ।
उनले सामाजिक रूपमा संवेदनशील विषय उठाउने निर्माण टिमको साहसको समेत प्रशंसा गरे ।
त्यस्तै, हरिवंश आचार्यले फिल्मलाई मनोरञ्जनसँगै गहिरो सामाजिक सन्देश बोकेको चलचित्रको रूपमा व्याख्या गरे ।
“यति राम्रो फिल्मलाई शब्दमा बयान गर्न गाह्रो छ । मैले हेरेका उत्कृष्ट नेपाली फिल्ममध्ये ‘लालीबजार’ पनि एक हो,” उनले भने ।
प्रिमियरमा सहभागी अधिकांश दर्शक र फिल्मकर्मीले अभिनेत्री स्वस्तिमा खड्का को अभिनयलाई विशेष रूपमा प्रशंसा गरेका थिए । फिल्ममा उनले निर्वाह गरेको भूमिकाले धेरै दर्शक भावुक बनेका थिए ।
चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसी ले स्वस्तिमाले आफ्नो अभिनय क्षमतालाई नयाँ उचाइमा पुर्याएको बताए ।
“स्वस्तिमा पहिले नै उत्कृष्ट अभिनेत्री हुन् । तर ‘लालीबजार’मा उनले आफ्नो अभिनयको स्तर झन् माथि उठाएकी छन् । यो फिल्म हेर्ने जोकोही भावुक हुन्छ,” उनले भने ।
पूर्वमन्त्री सुमना श्रेष्ठ ले फिल्मले समाजमा रहेको विभेद र त्यसविरुद्ध उठ्नुपर्ने आवाजलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको बताइन् ।
त्यस्तै, नेता रवीन्द्र मिश्र ले नेपाली समाजको पीडादायी यथार्थलाई फिल्मले कलात्मक रूपमा चित्रण गरेको प्रतिक्रिया दिए ।
“यो केवल फिल्म होइन, एउटा आमाको संघर्षको कथा हो । दर्शक हलबाट केही न केही सिकेर फर्किन्छन्,” उनले भने ।
बादी समुदायकी अभियन्ता देवीसरा बादी फिल्म हेर्दा आफ्नै आमाको संघर्ष सम्झिएको बताउँदै भावुक बनिन् ।
“यो मेरो पनि कथा हो । आमाले गरेको संघर्ष पर्दामा देखेँ । हरेक आमा–छोरीले हेर्नुपर्ने फिल्म बनेको छ,” उनले भनिन् ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेत ले फिल्मले मनोरञ्जनसँगै महत्वपूर्ण सन्देश दिएको बताए ।
लालीबजार का निर्देशक तथा लेखक यम थापा ले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित बनेको बताए ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाललगायत कलाकारको अभिनय रहेको छ ।
यसै फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदी ले अभिनय यात्रा सुरु गरेका छन् ।
षट्कोण आट्र्स को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन् ।