२ दिनमै ‘युनीभर्सिटी अफ गुण्डाज्’ टिजरको तहल्का, १० लाखभन्दा बढी भ्युज

0 Shares

सलिनमान बनियाँ र सलोन बस्नेतको एक्सन अवतारले दर्शकमाझ बढायो उत्साह

काठमाडौं :
अभिनेता सलिनमान बनियाँसलोन बस्नेत स्टारर एक्सन फिल्म युनीभर्सिटी अफ गुण्डाज् को टिजरले सार्वजनिक भएको दुई दिनमै युट्युबमा तहल्का मच्चाएको छ ।

ओएसआर डिजिटल को युट्युब च्यानलमार्फत रिलिज गरिएको १ मिनेट १२ सेकेन्ड लामो टिजरलाई छोटो समयमै १० लाख ६३ हजारभन्दा बढी पटक हेरिएको छ । टिजरले ८ हजारभन्दा बढी लाइक प्राप्त गरेको छ भने १२ सयभन्दा धेरै दर्शकले प्रतिक्रिया जनाएका छन् ।

दर्शकहरूले विशेषगरी सलिनमान र सलोनको एक्सन अवतारलाई रुचाएका छन् । कमेन्टमा धेरैले फिल्मको ‘फस्ट लुक’ ले नै ठूलो हलचल मच्चाएको उल्लेख गर्दै दुवै कलाकारलाई शुभकामना दिएका छन् ।

दर्शक अनिता लम्सालले प्रतिक्रिया दिँदै लेखेकी छन्,

“फिल्मको फस्ट लुकले ठूलो हलचल मच्चाएको छ । धन्यवाद सलिन र सलोन ।”

झण्डै आठ वर्षपछि फिल्म क्षेत्रमा पुनरागमन गरेका सलिनमानलाई दर्शकले “खाइलाग्दो एक्सन हिरो” को रूपमा स्वागत गरेका छन् । टिजरमा देखिएको उनको स्टाइल, प्रस्तुति र एक्सनलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

अर्का दर्शक प्रेम बराइलीले लेखेका छन्,

“सबै एक्सन हिरो साइड लाग, मेन हिरो आयो ल ।”

टिजरले युवापुस्तामाझ नयाँ ऊर्जा र फरक स्वादको एक्सन फिल्म आउने संकेत दिएको प्रतिक्रिया दर्शकले दिएका छन् । पछिल्लो समय नेपाली फिल्म बजारमा एक्सन जनराको आकर्षण बढिरहेका बेला ‘युनीभर्सिटी अफ गुण्डाज्’ले पनि दर्शकको ध्यान तान्न सफल भएको देखिन्छ ।

सलिनमानको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । टिजरमा एक युवकले आफ्नो क्षेत्रमा दबदबा कायम गरेको कथावस्तुको झलक प्रस्तुत गरिएको छ ।

सान्भी इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको फिल्ममा सलिनमान बनियाँ र सलोन बस्नेत मुख्य भूमिकामा छन् । फिल्मको कथा स्वयं सलिनमानले लेखेका हुन् भने निर्देशन सुरेश न्यौपाने ले गरेका छन् ।

फिल्मको एक्सन निर्देशन सम्राट बस्नेत ले गरेका छन् । निर्माण टिमले हालसम्म अन्य कलाकार र प्रदर्शन मिति सार्वजनिक गरेको छैन ।

फिल्ममा ब्याकग्राउन्ड स्कोर रोमन बज्राचार्य, मेकअप मनोज लामा, साउण्ड डिजाइन मुकेश शाह, भीएफएक्स मनोज श्रेष्ठ तथा सम्पादन र ट्रेलर बन्दे प्रसादले सम्हालेका छन् । त्यसैगरी रंग संयोजन राजेन्द्र मोक्तान, स्क्रिनप्ले मन्दिप गौतम तथा डीओपीको जिम्मेवारी सौरभ लामाले निभाएका छन् ।

सम्बन्धित समाचार

सबै