काठमाडौँ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म लालीबजार ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । सामाजिक भावनामा आधारित कथावस्तु प्रस्तुत गरिएको फिल्मले विशेषगरी आमा–छोरीको सम्बन्ध र एकल आमाको संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन्।
फिल्म प्रदर्शन सुरु भएयता अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा तथा निर्माण टिम काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
फिल्म हेरेपछि धेरै दर्शक भावुक बनेका छन्। परिवारसहित हल पुगेका दर्शकले फिल्मले आमाको महत्व र छोरीप्रतिको जिम्मेवारीलाई गहिरो रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। एकल आमाले संघर्ष गरेर छोरीलाई हुर्काउने कथाले आफूहरूलाई रुवाएको दर्शकको भनाइ छ।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शकको प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताइन्। उनका अनुसार फिल्मले उठाउन खोजेको विषय दर्शकले स्पष्ट रूपमा महसुस गरेका छन्। उनले महिला मात्र नभई पुरुष दर्शकसमेत भावुक बनेको प्रतिक्रिया आफूहरूले पाएको बताइन्।
डेब्यु अभिनेता विशाल देवकोटाले पहिलो फिल्ममै दर्शकबाट पाएको मायाले आफू उत्साहित बनेको बताए। फिल्ममा उनले निभाएको ‘नारायण’ पात्रलाई दर्शकले विशेष रूपमा रुचाएको उनले उल्लेख गरे।
त्यस्तै, कन्टेन्ट क्रिएटरसमेत रहेकी डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै उमेर समूहका दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताइन्। उनले पहिलो फिल्मबाटै पाएको समर्थनले अभिनय यात्रामा थप ऊर्जा मिलेको प्रतिक्रिया दिइन्।
निर्देशक यम थापाले फिल्मबारे बनेका विभिन्न अड्कलबाजी हलमै पुगेर फिल्म हेरेपछि स्पष्ट हुने बताए। उनले ‘लालीबजार’ सम्पूर्ण परिवारले सँगै बसेर हेर्न सकिने फिल्म भएको दाबी गरे।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।