काठमाडौं । आगामी नेपाली फिल्म रोल नं १ को नयाँ गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार लोकलयमा आधारित गीत सार्वजनिक गर्दै फिल्मको सांगीतिक पक्षलाई दर्शकमाझ ल्याएको हो।
गीतमा गायक प्रशान्त शिवाकोटी र गायिका शान्तिश्री परियार को स्वर रहेको छ। गीतका शब्द सुष्मा सिग्देल ले लेखेकी हुन् भने संगीत प्रशान्त शिवाकोटी स्वयंले तयार गरेका छन्।
गीतमा युवक–युवतीबीचको प्रेम संवादलाई सवाल–जवाफ शैलीमा प्रस्तुत गरिएको छ। मन परेको युवतीलाई युवकले प्रेम प्रस्ताव राख्ने, सँगै जीवन बिताउने चाहना व्यक्त गर्ने तथा युवतीले हतार नगर्न सुझाव दिने भाव गीतमा समेटिएको छ।
गीतले प्रेममा देखिने आकर्षण, पारिवारिक पृष्ठभूमिप्रतिको चासो र सम्बन्धलाई समय दिएर अघि बढाउनुपर्ने सन्देश प्रस्तुत गरेको छ। लोकलय र संवादात्मक शैलीका कारण गीत श्रवणीय बनेको प्रतिक्रिया दर्शकबाट आउन थालेको छ।
गीतको भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मा को अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी मौसम हिमाली ले गरेका हुन्।
निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक जोन योञ्जन को निर्देशनमा बनेको फिल्मले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने प्रभावको कथा प्रस्तुत गर्नेछ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दी जिल्लाका विभिन्न ग्रामीण तथा रमणीय क्षेत्रमा छायांकन गरिएको हो। निर्माण टिमका अनुसार फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ।