आगामी नेपाली फिल्म मितज्यू जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मलाई सामाजिक कथा, संस्कृति र मनोरञ्जनको मिश्रण भएको “कम्प्लिट प्याकेज”का रूपमा प्रस्तुत गरेको छ।
निर्देशक अनिल बुढा मगर ले दर्शकको बदलिँदो स्वाद र बजारको मागलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको बताएका छन्। गत वर्षको सफल फिल्म घर ज्वाइँ पछि उनी नयाँ परियोजनासहित दर्शकमाझ आउन लागेका हुन्।
फिल्मको मुख्य आकर्षणमध्ये एक हुन् तेरिया मगर। आफ्नो नृत्य कौशलबाट नेपाल र भारतमा लोकप्रिय बनेकी तेरिया यस फिल्ममा केवल नृत्यका लागि मात्र नभई मुख्य भूमिकामै देखिँदैछिन्। निर्माण टिमका अनुसार दर्शकले पहिलोपटक एउटै फिल्ममा तेरियाको अभिनय र नृत्य दुवै अनुभव गर्न पाउनेछन्।
फिल्ममा सौगात मल्ल र दयाहाङ राई जस्ता चर्चित अभिनेता पनि मुख्य भूमिकामा छन्। यी दुई अभिनेतासँग तेरियाको स्क्रीन साझेदारीलाई फिल्मको अर्को विशेष पक्षका रूपमा हेरिएको छ।
यसका साथै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ।
जनक घर्ती मगर निर्मित फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् भने छायांकन शिशिर बिशंखेको रहेको छ। ग्रामीण नेपाली परिवेशमा आधारित फिल्मले गाउँको संस्कृति, रहनसहन, सम्बन्ध र मित्रताको कथा प्रस्तुत गर्ने निर्माण टिमको भनाइ छ।
निर्माण पक्षले नेपाली मौलिकता र मनोरञ्जनको संयोजनका कारण ‘मितज्यू’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।