मितज्यू फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्ल मितेरी साइनोमा बाँधिएका साथीको भूमिकामा देखिएका छन्। गाउँमा नयाँ सडक पुगेपछि गाडी चालक बनेका उनीहरूबीच यात्रु छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धा देखाइएको छ।
ट्रेलरमा दया र सौगातबीचको मित्रता, प्रतिस्पर्धा र तनावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। सौगात, मित दयाको घरमा भाले बोकेर पुगेको दृश्य तथा मितिनी बनेकी तेरिया मगर को गाउँले शैलीको संवादले ट्रेलरलाई थप जीवन्त बनाएको छ।
फिल्ममा मितेरी साइनोलाई सामान्य रूपमा नलिन ज्योतिषीले दिएको चेतावनी, गाउँको सडकमा गाडी कुदाउने होड, झगडा र सम्बन्धमा आउने उतारचढावलाई समेत देखाइएको छ। ट्रेलरले नेपाली समाजमा कुनै समय लोकप्रिय रहेको मितेरी संस्कृतिलाई भावनात्मक र अर्थपूर्ण ढंगले प्रस्तुत गरेको प्रतिक्रिया प्राप्त गरिरहेको छ।
जनक घर्ती मगर निर्मित यस फिल्मलाई अनिल बुढा मगर ले निर्देशन गरेका हुन्। ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपाने को विशेष नृत्य समावेश गरिएको छ।
फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ।
आरआर फिल्म्स ले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर ले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
निर्माण टिमका अनुसार फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शनअघि नै ‘सोल्ड आउट’ भइसकेको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जनाइएको छ।