‘महिलाको आफ्नै आकृति खोज्ने प्रयास हो ‘एक मुठ्ठी बादल’ : निर्देशक सहारा शर्मा

0 Shares

जेठ १ गते प्रदर्शन तयारीमा रहेको एक मुठ्ठी बादल की निर्देशक सहारा शर्मा ले आफ्नो फिल्म महिलाको अस्तित्व, चाहना र दबिएको आवाजको कथा भएको बताएकी छन्।

फिल्मको शीर्षक किन ‘एक मुठ्ठी बादल’ राखिएको भन्ने प्रश्नमा निर्देशक शर्माले इतिहासले महिलालाई ठूलो भूमिकामा राखे पनि सधैं सीमित दायराभित्र कैद गरेको धारणा व्यक्त गरिन्।

“इतिहासले महिलालाई सधैं विशाल भूमिकामा राखेर पनि सानो ठाउँमा कैद गर्‍यो। आधा आकाश ओगट्ने महिला, तर हातमा अट्ने जति मात्रै उनको भाग। ‘एक मुठ्ठी बादल’ त्यसैको प्रतिवाद पनि हो, शोक पनि,” उनले भनिन्।

फिल्म प्रगतिशील हो वा समस्याको गनगन मात्रै भन्ने प्रश्नमा उनले आफ्नो सिनेमा स्पष्ट रूपमा प्रगतिशील भएको बताइन्। उनका अनुसार ‘बादल’ फिल्ममा एउटा प्रतीकका रूपमा प्रयोग गरिएको छ।

“बादलको आफ्नै आकार हुँदैन। जसले हेर्छ, उसले आफ्नै अर्थ देख्छ। कहिले वर्षा, कहिले छायाँ, कहिले आँधीको संकेत। महिलालाई पनि समाजले यस्तै पढ्यो—आमा, देवी, प्रेमिका, त्यागको मूर्ति। तर महिला स्वयं? उनको आफ्नै आकृति, आफ्नै चाहना, आफ्नै क्रोध? त्यो प्रायः हराइरह्यो,” उनले भनिन्।

निर्देशक शर्माको भनाइले फिल्मले महिलालाई समाजले बनाइदिएको परिभाषाभन्दा बाहिर हेर्ने प्रयास गरेको संकेत गर्छ। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मप्रति दर्शकमाझ चासो बढ्दो देखिएको छ।

साहारा शर्मा को डेब्यु निर्देशन रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

A cinema of choice: Inside Gauthali Entertainment’s feminist practice

फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल संलग्न छन् ।

फिल्ममा लिन्ह डान गुयेन फान को छायांकन, यशस्वी सभरवाल को प्रोडक्सन डिजाइन, गौरव मल्लिक को सम्पादन तथा जानकी कडायत को भेषभूषा डिजाइन रहेको छ । महिला नेतृत्वलाई प्राथमिकता दिइएको यो फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन ले निर्माण गरेका हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ ।

सम्बन्धित समाचार

सबै