‘लालीबजार’ टिम मोफसल यात्रामा, दर्शकसँग प्रत्यक्ष भेट्न सुर्खेत र नेपालगञ्ज पुग्ने

0 Shares

काठमाडौं । वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’को टिम दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न मोफसल यात्रामा निस्कने भएको छ। अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा तथा कार्यकारी निर्माता एवं पटकथाकार प्रदीप भट्टराईसहितको टोलीले सुर्खेतबाट यात्रा सुरु गर्दै नेपालगञ्ज पुग्ने तयारी गरेको हो।

फिल्मले प्रदर्शनपछि दर्शक तथा सेलिब्रेटीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ। पछिल्लो समय परिवारसहित दर्शक हलसम्म पुगिरहेको र बादी समुदायका अभियन्ताले समेत सामाजिक सञ्जालमार्फत फिल्मको प्रशंसा गरिरहेको बताइएको छ।

प्रदर्शनको पहिलो दिनदेखि नै काठमाडौं उपत्यकाका विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको टिम अब उपत्यकाबाहिरका दर्शकसँग पनि प्रत्यक्ष भेटघाट गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिए।

उनले भने, “दर्शकबाट पाइरहेको मायालाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनौं। अब मोफसलका दर्शकसँग भेटेर उहाँहरूको प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्नेछौं।”

उनका अनुसार सुर्खेतबाट सुरु हुने यात्रा नेपालगञ्ज हुँदै अन्य शहरसम्म पनि विस्तार गरिनेछ। “दर्शकलाई सरप्राइज दिन हामी विभिन्न शहरमा पुग्नेछौं। फिल्म प्रदर्शनपछि उहाँहरूसँग प्रत्यक्ष संवाद गर्ने योजना छ,” उनले बताए।

फिल्म हेरेपछि धेरै दर्शक भावुक बनेको प्रतिक्रिया निर्माण टिमले जनाएको छ। विशेषगरी एकल आमाले संघर्ष गरेर छोरीलाई शिक्षित बनाउने कथावस्तुले दर्शकलाई गहिरो रूपमा छोएको बताइएको छ।

‘Lalibazar’ Team Heads to Out-of-Valley Tour to Meet Audiences in Surkhet and Nepalgunj

शनिबार पनि निर्माण टिम उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाटमा व्यस्त रहेको थियो। अभिनेत्री स्वस्तिमा खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए। फिल्ममा उनले निभाएको ‘नारायण’ पात्रलाई दर्शकले विशेष रूपमा रुचाएका छन्।

त्यस्तै, डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिइरहेको बताइन्। जेन–जी पुस्ताकी कन्टेन्ट क्रिएटरका रूपमा परिचित प्रशंसाले फिल्ममा स्वस्तिमा खड्काकी छोरीको भूमिका निर्वाह गरेकी छन्।

निर्देशक तथा लेखक यम थापाले फिल्मबारे भएका अड्कलबाजीहरू फिल्म हेरेपछि स्पष्ट हुने बताए। उनले ‘लालीबजार’ सम्पूर्ण परिवारले सँगै बसेर हेर्न सकिने फिल्म भएको उल्लेख गरे।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन्। विशाल थिएटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ता तथा कन्टेन्ट क्रिएटरका रूपमा परिचित छन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’को पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।

सम्बन्धित समाचार

सबै