नीर, पूजा र अशोक लिएर बन्दै ‘सेतो कोट’

0 Shares

नीर शाह, पूजा शर्मा र अशोक दर्जीलाई मुख्य कलाकारका रूपमा प्रस्तुत गर्दै फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ। शिवम अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा मुहूर्त गरिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोलेका थिए भने नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेतले क्ल्याप दिएका थिए। पत्रकार सरिता भारतीले क्यामेरा चलाउँदा सुशान्त श्रेष्ठले नरिवल फुटाएका थिए।

निर्माता मिनु शर्माले यो आफ्नो दोस्रो फिल्म भएको बताउँदै यसपटक फिल्मसँगै आफू पनि सफल हुने अपेक्षा व्यक्त गरिन्। पहिलो फिल्म सफल भए पनि व्यक्तिगत रूपमा आफूले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो।

‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले ‘सेतो कोट’बाट फिल्ममा डेब्यु गर्दैछिन्। आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताउँदै उनले निर्मातासँगको कुराकानीपछि फिल्ममा काम गर्न लागेको जानकारी दिइन्।

अभिनेता नीर शाहले फिल्मले सेतोपन जोगाउने अपेक्षा व्यक्त गर्दा अशोक दर्जीले नयाँ टिमसँग काम गर्न उत्साहित रहेको बताए। पूजा शर्माले भने फिल्मको कथा सार्वजनिक नगर्ने संकेत गर्दै धेरै प्रश्न नगर्न आग्रह गरिन्।

लेखनसँगै निर्देशनमा पनि सक्रिय हुन लागेका शिवम अधिकारीले यसपटक निर्देशनका लागि पर्याप्त समय छुट्याएका छन्।

मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ। नेपाली फिल्ममा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिनेछ। कथावस्तु र घटनाक्रमलाई रहस्यपूर्ण राखेर दर्शकलाई समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने निर्माण पक्षको लक्ष्य छ।

मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता रहेको फिल्ममा फणीन्द्र तामाङ कार्यकारी निर्माता छन्।

फिल्ममा नीर शाह, अशोक दर्जी, पूजा शर्मा, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायत कलाकारको अभिनय रहनेछ।

काठमाडौं, मकवानपुरलगायत ग्रामीण क्षेत्रमा छायांकन गरिने फिल्ममा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन र स्टिभ शंकरको संगीत रहनेछ। अरुण रेग्मी हेड अफ प्रोडक्सन, नवराज शर्मा मुख्य सहायक निर्देशक, भावेश ढकाल बजार व्यवस्थापक, सञ्जीव खड्की प्रचार सामग्री डिजाइनर र डुक्राज कला निर्देशक छन्। दीप्त प्रकाश अधिकारी र एलियास मलिक सहनिर्देशकका रूपमा रहनेछन्।

सम्बन्धित समाचार

सबै