‘सक्किगोनि’को सिजन ४ आउने पक्का, अर्जुनले गरे घोषणा

0 Shares

लोकप्रिय हास्य सिरियल ‘सक्किगोनि’ नयाँ सिजनसहित पुनः प्रसारणमा आउने भएको छ। झन्डै दुई वर्षको अन्तरालपछि सिरियलको चौथो सिजन निर्माण हुने घोषणा गरिएको हो।

सिरियलका निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाँडे) ले शुक्रबार फेसबुकमार्फत नयाँ सिजन आउने जानकारी दिएका हुन्। ‘केही समयको प्रतीक्षापछि सक्किगोनि सिजन ४ आउँदैछ। थप अपडेटहरू केही दिनमै सार्वजनिक गर्नेछौं,’ उनले लेखेका छन्।

प्रसारण रोकिएपछि ‘सक्किगोनि’ बन्द भएको चर्चा चलेको थियो। तर, निर्देशकद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेले भने सिरियल बन्द नभई केही समयका लागि मात्र रोकिएको स्पष्ट पार्दै आएका थिए।

जेपिटी क्रियशनको प्रस्तुतिमा निर्माण हुँदै आएको सिरियलको प्रसारण ‘लाज शरणम’ फिल्मको तयारीसँगै रोकिएको थियो। ‘सक्किगोनि’कै टिमले निर्माण गरेको उक्त फिल्म २०८१ फागुनमा प्रदर्शन भएको थियो।

सिजन ४ आउने घोषणा भए पनि यसको प्रसारण मिति, कलाकारको निरन्तरता र प्रसारण माध्यमबारे निर्माण पक्षले केही खुलाएको छैन। नयाँ सिजनमा पुरानै कलाकार देखिनेछन् वा नयाँ अनुहार पनि थपिनेछन् भन्ने चासो दर्शकमाझ छ।

सम्बन्धित समाचार

सबै