आमाको माया, त्याग र छोराप्रतिको साथलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
म्याग्दीको दुर्गम गुर्जा गाउँमा छायांकन गरिएको ट्रेलरले ग्रामीण जीवनशैलीसँगै आमाछोराबीचको आत्मीय सम्बन्ध र जीवनसंघर्षलाई प्रस्तुत गर्छ। छोराको जीवनमा आइपर्ने हरेक कठिनाइमा साथ दिने आमाको भूमिकामा निरुता सिंह देखिएकी छन् भने छोराको भूमिकामा गिरी विश्वकर्मा छन्।
‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने निरुताको संवादले ट्रेलरमा भावनात्मक गहिराइ थपेको छ। उनको कवितावाचन पनि ट्रेलरको अर्को आकर्षण हो। उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीका पात्रलाई भने निर्माण टिमले कौतूहल जगाउने गरी प्रस्तुत गरेको छ।
ट्रेलरमा ग्रामीण परिवेश, स्थानीय जीवनशैली र पात्रहरूको स्वाभाविक प्रस्तुतिले फिल्मप्रति चासो बढाउँछ। लामो समयपछि उत्तम प्रधानको पर्दामा पुनरागमन र निरुता–गिरीको आमाछोराको भूमिकाले पनि फिल्मलाई चर्चामा ल्याउने देखिन्छ।
गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्म मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्ममा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता छन्। बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता छन्। अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकार छन्।
बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्ममा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।