नेपाली फिल्म ‘आशा’ को फर्स्टलुक पोस्टरले दर्शकमाझ कौतूहल सिर्जना गरेको छ । उडान स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मको पोस्टरमा अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ भने महेश त्रिपाठी किरिया बसेको अवस्थामा देखिएका छन् । आशान्त शर्मा पण्डितको भूमिकामा छन् भने अञ्जना बराइली ढोकाबाट चिहाइरहेकी छन् ।
पोस्टरको यही दृश्य संयोजनले फिल्मको कथाबारे अनेक प्रश्न उब्जाएको छ । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको पारिवारिक कथालाई संकेत गरे पनि त्यसपछाडिको रहस्य भने खुलाएको छैन ।
फिल्मकी निर्मात्री शर्मिला थापाका अनुसार ‘आशा’ पूर्णरूपमा पारिवारिक कथामा आधारित छ । दर्शकले फिल्म हेरेपछि समय र पैसाको सदुपयोग भएको महसुस गर्ने उनको दाबी छ । फिल्म आगामी फागुन १४ गते प्रदर्शनमा आउनेछ । वितरक तथा प्रदर्शकसँगको छलफलपछि प्रदर्शन मिति तय गरिएको उनले बताइन् ।
राजीव गुरुङको कथा तथा निर्देशन रहेको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, चिराग श्रेष्ठ र काश्वी भण्डारीलगायत कलाकारको अभिनय छ ।
काठमाडौँ उपत्यका, नमोबुद्ध र धुलिखेल आसपासमा छायांकन गरिएको फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।