‘सारथी’ ट्रेलरको चर्चा चुलियो, ट्रेन्डिङको नवौँ स्थानमा

0 Shares

निरुता सिंह र उत्तम प्रधानको पुनरागमनसँगै चर्चामा रहेको सिनेमा ‘सारथी’ को ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको ट्रेलर युट्युबको ‘मुभिज चार्ट’ मा नवौँ स्थानमा पुगेको हो ।

सार्वजनिक भएको छोटो समयमै ट्रेलरले डेढ लाखभन्दा बढी भ्युज पाएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ट्रेलरले आमा–छोराको सम्बन्ध, त्याग, सामाजिक विभेद र पहिचानको संघर्षलाई केन्द्रमा राखेको छ ।

ट्रेलरको मुख्य आकर्षण अभिनेत्री निरुता सिंहको मातृत्वपूर्ण र भावनात्मक अभिनय बनेको छ । उनले वाचन गरेको कविताले पनि दर्शकको ध्यान खिचेको छ । लामो समयपछि निरुतासँगै अभिनेता उत्तम प्रधान पर्दामा फर्किनुले सिनेमाप्रति दर्शकको चासो थप बढाएको छ ।

करिब दुई दशकपछि निरुता र उत्तमलाई एकसाथ देख्न पाउनु दर्शकका लागि विशेष बनेको छ । सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई ‘वेलकम ब्याक द क्वीन’ भन्दै स्वागत गरिएको छ । निरुताका पुराना सिनेमा हेरेर हुर्किएको पुस्ताका लागि यो पुनर्मिलन पुरानो सम्झना ताजा बनाउने अवसर बनेको छ ।

म्याग्दीको दुर्गम गुर्जा गाउँमा छायांकन गरिएको ट्रेलरमा त्यहाँको जनजीवन, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति समेटिएको छ । उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीका पात्रलाई भने रहस्यमय रूपमा प्रस्तुत गरिएको छ । यसले कथाको आगामी मोडबारे दर्शकमा जिज्ञासा बढाएको छ ।

सिनेमामा निरुता र उत्तमसँगै गायत्री जोशी तथा नवकलाकार गिरी विश्वकर्माको मुख्य भूमिका छ । छोराको भूमिकामा देखिएका गिरीको स्वाभाविक अभिनयले पनि दर्शकको ध्यान खिचेको छ ।

कुमार गजुरेलको लेखन तथा निर्देशन रहेको सिनेमामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी तथा कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन् ।

अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमामा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन् । आरआर फिल्म्सले सिनेमाको वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै