चर्चाबाहिरबाट चर्चामा ‘सारथी’, बन्न सक्छ बक्स अफिसको सरप्राइज!

0 Shares

निर्माण तथा प्रदर्शन घोषणा हुँदा खासै चर्चा नपाएको फिल्म ‘सारथी’ ले प्रचार सामग्री सार्वजनिक गर्दै जाँदा दर्शकको ध्यान खिच्न थालेको छ । फिल्मको ‘मयाली’ गीतले टिकटकसहित सामाजिक सञ्जालमा पाएको लोकप्रियता र सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले यसको चर्चा बढाएको छ । मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मले बक्स अफिसमा अप्रत्याशित नतिजा दिन सक्ने संकेत देखाएको छ ।

‘मयाली’ गीत सामाजिक सञ्जालमा दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । टिकटकमा गीत प्रयोग गरेर बनाइएका भिडियोले यसको प्रचारलाई थप गति दिएका छन् । त्यसमाथि सार्वजनिक ट्रेलर युट्युबको ‘मुभिज चार्ट’ मा नवौँ स्थानमा उक्लिएको छ । ट्रेलरले छोटो समयमै डेढ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।

‘सारथी’ को अर्को प्रमुख आकर्षण करिब दुई दशकपछि पर्दामा फर्किएका अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी हो । उनीहरूको पुनरागमनले पुरानो पुस्ताका दर्शकमा नोस्टाल्जिया जगाएको छ । ट्रेलरमा निरुताको भावुक अभिनय, मातृत्वको पीडा र उनले वाचन गरेको कविताले दर्शकको मन छोएको छ ।

आमा–छोराको सम्बन्ध, त्याग, सामाजिक विभेद र पहिचानको खोजीलाई केन्द्रमा राखेको कथाले पनि फिल्मप्रति उत्सुकता बढाएको छ । नवकलाकार गिरी विश्वकर्माको स्वाभाविक अभिनय र उत्तम प्रधान तथा नवअभिनेत्री गायत्री जोशीका रहस्यमय भूमिकाले ट्रेलरलाई थप कौतूहलपूर्ण बनाएका छन् ।

फिल्मको अर्को बलियो पक्ष यसको सिनेमाटोग्राफी हो । म्याग्दीको दुर्गम गुर्जा गाउँको प्राकृतिक सुन्दरता, वास्तविक जनजीवन र स्थानीय संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । संकल्प भुजेलको छायांकनले फिल्मलाई दृश्यात्मक रूपमा जीवन्त बनाएको छ ।

कुमार गजुरेलको लेखन तथा निर्देशन रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

प्रदर्शन घोषणा हुँदा खासै चर्चा नपाएको ‘सारथी’ ले गीतदेखि ट्रेलरसम्म आइपुग्दा आफ्नो उपस्थितिको महसुस गराउन थालेको छ । गीतको सामाजिक सञ्जालमा बढ्दो लोकप्रियता, ट्रेलरप्रतिको आकर्षण, निरुता–उत्तमको पुनरागमन र आकर्षक दृश्यांकनले फिल्मप्रति अपेक्षा बढाएको छ । प्रचार सामग्रीले सिर्जना गरेको यो उत्साह हलसम्म पुग्न सके ‘सारथी’ नेपाली बक्स अफिसको अप्रत्याशित सरप्राइज बन्न सक्छ ।

सम्बन्धित समाचार

सबै