पल–सनिशाको ‘सुनबुकी फूल’ सार्वजनिक

0 Shares

पल शाह र सनिशा भट्टराईको अनस्क्रिन जोडी फेरि एकपटक दर्शकमाझ आएको छ । उनीहरूको अभिनय रहेको नयाँ गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । गरिमा फिल्म्सको युट्युब च्यानलबाट सोमबार सार्वजनिक गीतमा नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग देख्न सकिन्छ । पुकार भट्टराईको समेत अभिनय रहेको भिडियोले सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिलाई जोडेको छ ।

मिलन नेवार र मार्मिक लामाले गाएको गीतमा राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ । बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले संगीत संयोजन गरेको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । राजाराम सिम्खडाले सहायक कोरियोग्राफी गरेका छन् ।

गरिमा फिल्म्सले निर्माण गरेको गीतको भिडियोमा सुजनी मल्ल ठाकुरीको ड्रेस डिजाइन, दिपु पौडेलको मेकअप र जट्टा शंकरको आर्ट रहेको छ । विजय बस्यालले पोस्टर तयार पारेका हुन् भने भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ ।

लोक तथा नृत्यप्रधान शैलीमा तयार भएको ‘सुनबुकी फूल’ ले नेपाली मौलिक संस्कृति र पल–सनिशाको लोकप्रिय जोडीलाई एकसाथ प्रस्तुत गरेको छ । निर्माण पक्षले गीतको अडियो तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

सबै