पश्चिम नेपालमा अनमोलको क्रेज, ‘बाटुलो जुन’को व्यापार आक्रामक

0 Shares

फिल्म ‘बाटुलो जुन’ले पश्चिम नेपालमा दर्शकको उत्साहजनक साथ पाएको छ। एक सातासम्म पश्चिम नेपालका विभिन्न सहरमा दर्शक भेटघाट गरेको फिल्मको टिम काठमाडौं फर्किएको छ।

निर्देशक तथा नायक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टोली दाङबाट प्रचार यात्रा सुरु गर्दै नेपालगञ्ज, धनगढी, चितवन र पोखरासम्म पुगेको थियो।

यसपटक अनमोल पश्चिम नेपालका अधिकांश हलमा पुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखियो। उनलाई भेट्न बिहानैदेखि हलमा दर्शकको भीड लागेको थियो। अनमोल आउने प्रतीक्षामा दिनभर हलमै बसेका दर्शकसमेत भेटिए। उनीसँग तस्वीर खिचाउन दर्शकबीच तँछाडमछाड देखिएको थियो।

यसअघि ‘जेरीः अन टप’को प्रचारका क्रममा अनमोल दाङ र नेपालगञ्ज पुगेका थिए। तर, ‘बाटुलो जुन’को प्रचारमा भने उनले पश्चिम नेपालका धेरै सहर र हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेट गरे।

अनमोलले दर्शकबाट पाएको मायाले आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन्। भुवन केसीले पनि पश्चिम नेपालका दर्शकको प्रेमले आफूलाई भावुक बनाएको बताए।

पहिलो फिल्मबाटै दर्शकको माया पाएकी प्रिन्सी खतिवडाको उत्साह पनि कम थिएन। दर्शकले उनलाई ‘माउसुली’ र ‘छत्कुल्ली’ जस्ता नामले सम्बोधन गरेका थिए।

फिल्मले प्रदर्शनको ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। पश्चिम नेपालमा देखिएको दर्शकको उत्साह र हलमा भइरहेको आक्रामक व्यापारले फिल्मको बक्स अफिस यात्रालाई थप बल दिएको छ।

जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माता छन्। सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन तथा युग भुसाल र एसडी योगीको संगीत छ।

सम्बन्धित समाचार

सबै