‘सिन्दुरे जात्रा’को त्यो दृश्य जसको सुटिङ गर्दा अञ्जना भइन् बेहोस !

0 Shares

अभिनेत्री अञ्जना बराइली फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा बेहोस भएको घटना सार्वजनिक भएको छ। १२ खरी अनलाइनलाई दिएको भिडियो अन्तरवार्तामा अभिनेत्री बराईलीले घटनाको खुलासा गरेकी हुन् ।

पोखरामा सिनेमाको छायांकन भइरहेको एक दृश्यमा अभिनय गर्ने क्रममा असहज भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

उनका अनुसार फिल्ममा एउटा यस्तो दृश्य थियो, जसमा उनको पात्रमाथि माता चढ्ने प्रसङ्ग थियो। यसअघि आफूले त्यस्तो अवस्था प्रत्यक्ष नदेखेका कारण उक्त दृश्य कसरी अभिनय गर्ने भन्नेमा उनी अन्योलमा थिइन्।

दृश्य छायांकन हुनुअघि उनले अभिनेता विजय बरालसँग अभिनयबारे सल्लाहसमेत लिएकी थिइन्। आफूलाई उक्त दृश्य गर्न निकै अप्ठ्यारो लागेको र अभिनय बनावटी देखिने हो कि भन्ने डर रहेको उनले सुनाइन्। विजयले उनलाई दृश्य कसरी प्रस्तुत गर्ने भनेर सिकाएका थिए।

तर, छायांकनका क्रममा अभिनय गर्दै जाँदा आफूलाई असामान्य अनुभूति हुन थालेको अञ्जनाले बताइन्। त्यसपछि के भयो भन्ने आफूलाई स्पष्ट सम्झना नरहेको उनको भनाइ छ।

‘टेक लिने बेलामा त्यो सिन गर्दा गर्दै काम नथाले जस्तो, एकदमै बढ्दै-बढ्दै गयो। त्यसपछि पछाडि के भयो, केही यादै छैन,’ उनले भनिन्।

उक्त घटनापछि आफूलाई पोखराको अस्पताल पुर्‍याइएको उनले बताइन्। अस्पतालको प्रक्रिया पूरा गरेर फर्किएपछि पनि बाँकी रहेको दृश्य छायांकन गर्न उनी मानसिक रूपमा तयार हुन सकेकी थिइनन्।

‘म आफैँले पनि अहिले फेरि त्यस्तै भइहाल्यो भने के गर्ने भन्ने सोचेर अलि रोक्नुस्, म अहिले तयार छैन भनेँ। त्यो घटनाले मलाई मानसिक रूपमा ट्रमाजस्तै असर गरेको थियो,’ उनले सुनाइन्।

केही समय लिएर मानसिक रूपमा तयार भएपछि मात्र बाँकी दृश्य छायांकन गरेको अञ्जनाले बताइन्। फिल्मको काम पूरा गरेर आफू काठमाडौं फर्किएको उनको भनाइ छ।

छायांकनका क्रममा भएको उक्त घटना आफ्नो करियरकै फरक र अविस्मरणीय अनुभव भएको पनि उनले स्वीकार गरेकी छन्।

अञ्जना र विजय बरालको मुख्य भूमिका रहेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। अञ्जनाले फिल्मलाई विशुद्ध पारिवारिक तथा महिला प्रधान कथामा बनेको फिल्मका रूपमा व्याख्या गरेकी छन्। फिल्ममा उनले लक्ष्मीको भूमिका निर्वाह गरेकी छन्।

 

सम्बन्धित समाचार

सबै