काठमाडौं । नेपाली कमेडी फिल्म ‘ककाकिकी’ले प्रदर्शनअघि नै चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ। मंगलबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा सहभागी चलचित्रकर्मीले फिल्मको हास्यशैली, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका हुन्।
फिल्मका विभिन्न दृश्यमा हल हाँसोले गुञ्जिएको थियो। दर्शकको भूमिकामा रहेका चलचित्रकर्मीसमेत खुलेर हाँसेका थिए। निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले कमेडीलाई प्रस्तुत गरेको शैली र फिल्म निर्माणमा गरेको मेहनतको प्रिमियरमा प्रशंसा भएको थियो।
प्रिमियरमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकारदेखि निर्देशक, निर्माता र संगीतकर्मीसम्मको उपस्थिति थियो। मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, जयकिशन बस्नेत, विल्सन विक्रम राई र गायक शिव परियारलगायतले फिल्म हेरेका थिए।
प्रिमियरपछि निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको बताए। निर्माणमा टिमले सक्दो मेहनत गरेको उल्लेख गर्दै उनले अब दर्शकको प्रतिक्रियाको प्रतीक्षा रहेको बताए।
फिल्मका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले खुसी बनाएको बताएका छन्।
यसैबीच, ‘ककाकिकी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेटसमेत पाएको छ। योसँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्। पारिवारिक दर्शकलाई लक्षित हास्यप्रधान फिल्मका रूपमा निर्माण पक्षले यसलाई प्रस्तुत गरेको छ।
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खबपु, म्याकुरी, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बीटी कान्छा, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। बीटी कान्छाले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशकका रूपमा छन्। अनिश तामाङको मेकअप, सुमन परियारको कस्ट्युम डिजाइन र अरुण रेग्मीको प्रोडक्सन व्यवस्थापन रहेको छ।
ओएसआर डिजिटलसँग डिजिटल अधिकार रहेको ‘ककाकिकी’ मंसिर ११ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।