नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
पोजिटिभ भाइब्स इन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आगामी एल्बमको पहिलो रिलिज हो।
गीतको स्वर, शब्द र संगीत स्टिभ देवानको छ। भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीले अभिनय गरेका छन्। भिडियोमा एक युवालाई उसका प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ ब्याण्डका सदस्यहरूले सहयोग गरेको कथामा आधारित छ। भिडियोको निर्देशन बियोन्डले गरेका हुन्, छायांकन कमल प्रसाईंको र सम्पादन विकेश मगरको छ।
भिडियोले नेपाली समाजमा देखिएको कठोर यथार्थलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरेको छ, जहाँ जातीय भिन्नताका कारण परिवारहरूले प्रेम सम्बन्धलाई तोड्न बाध्य पार्छन्। भिडियोको अन्त्यमा बेहुलीका बाबुले आफ्नो छोरीलाई प्रेम विवाह गर्न गुपचुप रूपमा समर्थन गरिरहेको देखाइएको छ।
व्याण्डले यस गीतमार्फत नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गर्ने प्रयास गरेको दाबी गरेको छ।
अन्तरजातीय प्रेमको भावनालाई व्यक्त गरिएको गीतको सुरुवात रमाइलो शैलीमा भए तापनि अन्त्यतिर गहिरो प्रेमको भावना व्यक्त गरिएको छ। व्याण्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानले गीत र भिडियोले नेपालमा अन्तरजातीय विवाह र सम्बन्धलाई सामान्य रूपमा स्वीकार गर्ने संस्कृतिबारे थप बहसको थालनी गर्ने बताए।
झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान (गायन र गिटार), बिशाल हाङ राई (बास गिटार), र दिप्सन केसी (ड्रम्स) सदस्य छन्।