अभिनेता अनमोल केसी २०८२ सालको सुपरहिट फिल्म ‘जेरी अन टप’ को दोस्रो श्रृंखलामा देखिने निश्चित भएको छ। निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माताबीच फिल्मलाई लिएर लिखित सम्झौता सम्पन्न भएको हो।
नयाँ फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ।
फिल्ममा अनमोल बाहेक अन्य कलाकारहरू अझै फाइनल भएका छैनन्। स्रोतका अनुसार आँचल शर्मा र जसिता गुरुङ पुनः देखिने वा नदेखिनेबारे पनि निर्णय भइसकेको छैन।
फिल्मको निर्देशन सुयोग गुरुङ ले नै गर्नेछन् भने पटकथा लेखन ब्रजेश खनाल ले गरिरहेका छन्। ब्रजेशले सामाजिक सञ्जालमा ‘काकु र भतिजा’को नयाँ सहकार्य भन्दै तस्बिर पनि सेयर गरेका छन्।
उनले लेखेका छन्, “काकु र भतिजाको फेरि एउटा नयाँ सिनेमाका लागि सहकार्य हुँदैछ। विस्तृत जानकारी निर्माण पक्षले समयमै दिनेछ। नयाँ वर्षमा सुरु भएको यो फिल्मले सफलताका नयाँ मानक स्थापित गर्ने विश्वास छ।”
निर्माण पक्षका अनुसार आगामी दुई–तीन महिनाभित्र पटकथा लेखन पूरा हुनेछ। हाल अनमोल केसी फिल्म ‘बाटुलो जुन’ को छायांकनमा व्यस्त छन्। २२ बैशाखमा उक्त फिल्मको सुटिङ सकिएपछि उनी सम्भवतः ‘ए मेरो हजुर’ को नयाँ सिक्वेलमा काम गर्नेछन्।
त्यसपछि मात्र ‘जेरी’ श्रृंखलाको नयाँ फिल्मको काम अघि बढ्ने बताइएको छ। उल्लेखनीय छ, ‘जेरी अन टप’ अनमोल केसीको करियरकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो।