‘बुलबुल १४ फेब्रुअरीमा एमएसएम एपमा रिलिज हुँदै

0 Shares

सन् २०१९ को भ्यालेन्टाइन डे मा हलमा प्रदर्शन भएको चलचित्र बुलबुल अब १४ फेब्रुअरी २०२५ मा एमएसएम एपमा रिलिज हुने भएको छ।

यो चलचित्र एमएसएम एपमा मोबाइल, गूगल, टिभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टिभी, एलजी टिभी, एप्पल टिभी, हिसेन्स टिभी, भिडियो टिभी, रोकु टिभी एप र कम्प्युटरमा उपलब्ध हुनेछ। यसरी, हरेक वर्गका दर्शकहरूले आफूलाई मनपर्ने फिल्म सजिलै हेर्न पाउनेछन्।

चलचित्रका निर्माता अविरल थापाले भने, “पहिला हलमा हेर्न नपाएका र नभ्याएका दर्शकहरूले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्नका लागि अत्यधिक माग गरेपछि हामी एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको हो।”

थापाले थपे, “कहाँबाट, कतिले चलचित्र हेरे र कति आम्दानी भएको भन्ने सबै कुरा चलचित्र निर्माता आफैँले पारदर्शी रूपमा देख्न सक्छन्। यसरी दर्शक र निर्माता दुवैले घरमै बसी विभिन्न प्लेटफर्ममा आफ्नो समयअनुसार चलचित्र हेर्न पाउनु राम्रो भएको छ।”

स्वस्तिमा खड्काले बुलबुल चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभल लगायतका अन्य घरायसी फेस्टिभलहरूमा पुरस्कार प्राप्त गरिन्, साथै राष्ट्रिय चलचित्र पुरस्कार पनि जितिन्।

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए। यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अवार्डमा पनि प्रतिनिधित्व गरेको थियो र संसारभरिका धेरै अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो।

चलचित्रमा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर फिल्म करियरको डेब्यू गरेका थिए।

यही टिमले बनाएको अर्को चलचित्र भूतान, जसमा हरिवंश आचार्यको प्रमुख भूमिका रहेको छ, २०८२ वैशाख १२ गते प्रदर्शनमा आउँदैछ।

सम्बन्धित समाचार

सबै