
हरर कमेडी जनराको नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ। २ मिनेट ४२ सेकेन्ड लामो यो ट्रेलरले चार ग्रामीण युवाहरूको जीवनमा आउने रहस्यमय युवती र त्यसले उत्पन्न हुने घटनालाई हाँस्य शैलीमा प्रस्तुत गरेको छ। ट्रेलरको अन्त्यमा युवतीलाई भूतको रूपमा देखाउन खोजिएको छ, जसले दर्शकलाई उत्सुक बनाउँछ।
“आज साइकल, भोलि फरारी” ट्यागलाइनसहित प्रस्तुत गरिएको यस फिल्मले नेपाली दर्शकलाई नयाँ किसिमको मनोरञ्जन दिने संकेत ट्रेलरले गरेको छ। नेपालमा कम प्रयोग भएको हरर-कमेडी जनरा बलिउडमा सफल भए पनि नेपाली फिल्म उद्योगमा यसको निकै कम प्रयोग भएको छ।
फिल्म कात्तिक २२ गते छठको अवसरमा प्रदर्शनमा आउनेछ।
नविन भट्टले निर्देशन गरेको यस फिल्ममा मनोज अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स लगायतका कलाकारहरूको भूमिका छ। निर्देशक भट्ट र अभिनेता सन्दीप श्रेष्ठले मिलेर स्क्रिप्ट लेखेका छन्। निर्माता मनोज कुमार अधिकारी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्, र उनीसँग नितिश पुन सह-निर्माताका रूपमा छन्।
फिल्मको छायांकन जितु तामाङले गरेका हुन् भने केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत, र अनन्त घिमिरेको सम्पादन रहेको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ भने डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।