
दशैंको फूलपातीको अवसरमा रिलिज भएको सिनेमा ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले धेरै रुचाएका छन्।
दुई साता अघि रिलिज भएको टिजर यो समाचार तयार पार्दासम्म १० लाख निकट पुगेको छ। हालसम्म ९ लाख ९६ हजार भ्यूज, ३२ हजार लाइक र २७ सय बढी प्रतिक्रिया पाएको छ।
अधिकांशले आफूहरुलाई टिजर मन परेको कमेन्टमा उल्लेख गरेका छन्।
सिनेमामा एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको कहानी देखाइएको छ। टिजरमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रूपमा प्रस्तुत छन्। हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम देखिन्छ।
लामो समयपछि नेपाली सिनेमामा फर्किएकी अभिनेत्री विपना थापा राजनीतिज्ञको रूपमा प्रस्तुत भएकी छन् भने अर्की अभिनेत्री रेखा थापाले ज्योतिषको भूमिका निभाएकी छन्। टिजरमा दक्षिण भारतका लोकप्रिय कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहान सिंहलाई पनि देख्न सकिन्छ।
सिनेमाको कथा ज्योतिषशास्त्रमा आधारित छ। टिजरको सस्पेन्स र साउथका चर्चित कलाकारहरूको कारण ‘ह्रस्व दीर्घ’ चर्चामा छ। धेरै दर्शकले टिजरमा साउथका कलाकारलाई देखेर खुशी व्यक्त गरेका छन्।
तर, केही दर्शकले ब्रह्मानन्दमको संवादको डविङ कमजोर सुनिएको बताएका छन् र यसलाई सुधार्न अनुरोध गरेका छन्।
सिनेमाले नेपाली सिनेमालाई भारतसहित विश्वभर चिनाउने विश्वास व्यक्त गरिएको छ। नीता ढुंगानाले ठुलो बजेटमा सिनेमा निर्माण गरेकोमा प्रशंसा पाएकी छन्। दर्शकले उनको पहिलो सिनेमा सफल होस् भन्ने शुभकामना दिएका छन्।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो सिनेमा तीन भाषामा रिलिज हुनेछ: नेपाली, तेलुगु र हिन्दी। कार्यकारी निर्माता धनञ्जय गलानी हुन्। सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, र अन्य कलाकारहरूको अभिनय छ।
सिनेमाको कथा र पटकथा हरिहर अधिकारी र प्रतीक पौडेलले लेखेका हुन्। सिनेमाका निर्देशक चन्द्र पन्त हुन्। उनले पहिले केही भोजपुरी र नेपाली सिनेमामा काम गरिसकेका छन्।
सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ।