
‘अग्निदहन’ सिनेमाको ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको युगल स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतका रचनाकार लोकमणि पौडेल हुन् ।
धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् ।
विवाहको सेटअपमा तयार परिएको ‘दाइ दाइ नभन’ रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीत रहेको छ । भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ। जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन् ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित सिनेमा आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।
घनश्याम लामिछाने सिनेमाका निर्देशक हुन्। निर्देशक लामिछानेका अनुसार सिनेमामा एउटा डरलाग्दो विषयलाई उठान गरिएको छ।
‘सिनेमामा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट सिनेमामा उतारेका छौं । सिनेमामा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने।
मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन सिनेमा निर्माण गरिएको उनले बताए ।
सिनेमाका परिकल्पनाकार कोविदशरण उपाध्यायले सिनेमालाई तराईका जिल्लामा प्रदर्शन गर्नका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको जानकारी दिए ।
सिनेमाको अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।
सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।