चर्चित भारतीय कलाकारसमेतको अभिनय रहेको ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली तथा हिन्दी गरी दुबै भाषामा एकसाथ रिलिज हुने भएको छ।
शुक्रबार सेभेन सिज इन्टरटेनमेन्टसँग विदेश प्रदर्शन अधिकार संझौता गरेको सिनेमा नेपालीसँगै हिन्दीमा रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ।
सिनेमा कार्तिक ३० गते रिलिज हुँदैछ।
विदेशमा भने सिनेमा एकसातापछि अर्थात् मंसिर ७ गते रिलिज हुनेछ।
सेभेन सिज हिन्दी तथा नेपाली दुबै भाषाकाको डायस्पोरा अधिकार किनेको हो।
सेभेन सिजका सञ्चालक मध्येका एक विनोद पौडेलले ‘ह्रस्व दीर्घ; विदेशमा बक्सअफिसमा नै रिलिज हुने जानकारी दिए ।
नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको जानकारी अभिनेता हरिहर अधिकारीले दिएका छन् ।
‘हाम्रो सिनेमाका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं’ अधिकारीले भने।
भारतीय वितरकले आफ्नो सिनेमाप्रति राम्रो चासो देखाएको हरिहरको भनाइ छ।
नीता ढुङ्गाना निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीले लेखेको कथामा भने अधिकारीले प्रतीक पौडेल तथा निर्देशक चन्द्र पन्तसँग पटकथा सहलेखन गरेका छन्।
सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।