
‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । सिनेमाको पहिलो चरणमा काठमाडौं र काभ्रेको पाँचखालको १२ दिने सेड्युल समापन भएको हो।
दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बारामा सुरु हुने जानकारी निर्माता रौनक कँडेलले दिएका छन्।
बारासँगै सिनेमाको केही भाग चितवनमा समेत हुनेछ । निर्माता कँडेलले पहिलो चरणको छायांकन उत्साहजनक बताए ।
यो सिनेमा २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको छ।
विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पालाई प्रवेश गराइएको छ।
सिनेमामा मेनुका प्रधानसँगै निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्।
सिनेमामा विनय, कामेश्वर र सुपुष्पाको साथमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ ।
सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।
सिनेमा आट्स र वि मोशन पिक्चर्सको निर्माण सहकार्य रहेको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।