‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ सिनेमाले पोस्ट प्रोडक्सनका लागि नेदरल्यान्डको प्रतिष्ठित ह्युबर्ट बाल्स फन्ड (एचबीएफ र इयु) पाउने भएको छ।
यस अन्तरगत सिनेमाले ६० हजार युरो अर्थात करिब ८७ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ।
गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह-निर्माणमा बनेको यो फिल्म नेपालकै पहिलो महिला-प्रधान अन्तर्राष्ट्रिय सह-निर्माण सिनेमा हो। नेपालबाट मन प्रडक्सन र अन्डरग्राउन्ड टकिजले निर्माणमा सहकार्य गरका छन् भने अनुप पौडेल, सामीप्य राज तिमल्सेना तथा निकुन श्रेष्ठ निर्माताका रुपमा रहेका छन्।
विवाहको पृष्ठभूमिमा आधारित ‘एक मुठ्ठी बादल’ले घरको सीमा र सामाजिक अपेक्षाभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा भन्छ। सिनेमामा समाजको अपेक्षामा बाँधिएकी एक युवती र उनको स्वतन्त्रताको चाहनाबीचको द्वन्द्वलाई प्रस्तुत गर्दछ। नेपाली समाजमा गृहिणीका रूपमा रहेका महिलाहरूको त्याग, संघर्ष र योगदानलाई यस फिल्मले उजागर गर्ने निर्माण पक्षले जनाएको छ।
सिनेमामा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, र अश्मिता गौतमको अभिनय रहेको छ। साहारा शर्मा सिनेमाकी निर्देशक हुन्। उनले पोस्ट-प्रोडक्शनको लागि सहयोग पाउँदा खुसी व्यक्त गरेकी छन्।
यो सिनेमा लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन सिनेमा बजार, र ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौट भएको छ।