
‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकाका लागि चर्चित प्रदीप चौधरीले पहिलोपटक पर्दामा शीर्षक भूमिका निर्वाह गर्ने भएका छन्। झण्डै १० वर्षपछि उनले शीर्षक भूमिकाका लागि ‘सत्यवीर’बाट मौका पाएका हुन्।
लक्ष्मीपूजाको अवसरमा उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरिएको थियो।
पोस्टरमा प्रदीप रगत पोतिएको बञ्चरो लिएर आक्रामक अवतारमा प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा उनको पाखुरामा चोटको निशान देखिन्छ भने अनुहारमा रगतका छिर्काहरु देख्न सकिन्छ।
गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमालाई विराज खड्काले निर्देशन गर्दैछन्।
एक दशकदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय रहेका खड्काको यो डेब्यू निर्देशन हो । उनले यसअघि एक दर्जन सर्ट सिनेमा र म्यूजिक भिडियो निर्देशन गरिसकेका छन्।
आदेश सुब्बा निर्माता रहेको सिनेमाको छायांकन आगामी डिसेम्बरबाट सुरु हुनेछ।
यो सिनेमामा ४० प्रतिशत दृश्यमा भिएफएक्स हुने जानकारि निर्देशक खड्काले दिएका छन्। काठमाडौं र चितवनमा सिनेमा खिचिनेछ।
कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसीबाहेक निर्माण कम्पनीले सिनेमाको अन्य ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गरेको छैन।
साढे २ करोडको लागतमा निर्माण हुने सिनेमाको कथा प्रदीप चौधरीले लेखेका हुन्।