हेर्नुस् विनय-अञ्जनाको नयाँ गीत ‘किन छिन् छिन्’

0 Shares

६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ बोलको गीतमार्फत संगीत यात्रामा पदार्पण गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत ‘किन छिन् छिन्’ सार्वजनिक गरेका छन्।

यो गीत कमल खत्रीको शब्द र संगीतमा तयार भएको हो भने विनयले यसमा गायिका अञ्जना सारुसँग युगल स्वर दिएका छन्। अञ्जना सारू ‘इमेज लोककलाकार सिजन १’ की विजेता हुन्, जसले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी छिन्।

गीतको सार्वजनिक कार्यक्रममा विनयले पुरानो हिट गीत ‘जब तिमी एक्लै थियौं’ को चर्चा गर्दै संगीत संयोजनमा करिब सात वर्षसम्म व्यस्त भएकाले गायनमा निरन्तरता दिन नसकेको खुलासा गरे। उनले अब भने नियमित रुपमा गायनमा सक्रिय रहन चाहेको बताए।

गायनमा पुनः सक्रिय हुने योजनासहित उनले ‘भ्वाइस अफ नेपाल, सिजन २’ को मञ्च रोजेका थिए। ब्लाइन्ड अडिसनमा ‘भूमो’ गीत प्रस्तुत गर्दा चारै जना निर्णायकले हरियो बर्जर बजाएर उनको प्रस्तुति सराहना गरेका थिए। यद्यपि, उनी प्रतियोगिताको दोश्रो चरणमै बाहिरिनु परेको थियो।

पछिल्लो समय विनय युट्युब र टेलिभिजनमा चर्चित टेलिश्रृंखला ‘बुहारी’, ‘हल्कारा माइलो’, ‘जुठे’, र ‘नारी’ लगायतका दर्जनौं टेलिश्रृंखलामा पार्श्व संगीत दिएका छन्। उनले पुनः दर्शकको मन जित्ने उद्देश्यसहित ‘किन छिन् छिन्’ गीत प्रस्तुत गरेको र यसमा श्रोताहरुको राम्रो प्रतिक्रिया आउनेमा आफू आशावादी रहेको बताए।

गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा तयार भएको छ, जसमा श्रद्धा क्षेत्री, विक्रम पोखरेल र आरोही कार्की क्षेत्रीको अभिनय देख्न सकिन्छ। भिडियोले गीतको भावलाई जीवन्त बनाएको र दर्शकको मन छुने प्रयास गरेको छ।

गीत रिलिज भएको केही समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्दैछ। विनयको गायनमा पुनः सक्रियता तथा नयाँ सिर्जनाले सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा ल्याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

सबै