अमेरिकन फिल्म मार्केटमा निशानले गरे नेपालको प्रतिनिधित्व

0 Shares

हरेक वर्ष विश्वभरका चलचित्र उद्यमीहरूका लागि प्रमुख आकर्षणको केन्द्र मानिने ‘अमेरिकन फिल्म मार्केट’ यस वर्ष लस भेगासको पाम क्यासिनो रिसोर्टमा नोभेम्बर ५ देखि १० सम्म ४५ औं संस्करणका रूपमा आयोजना भयो। यो फिल्म व्यापार मेला विश्वकै सबैभन्दा ठूलो मानिन्छ, जहाँ ८० भन्दा बढी देशका १०० भन्दा धेरै वक्ताहरूले चलचित्र उद्योगका विभिन्न पक्षहरूमाथि मन्तव्य प्रस्तुत गरे।

यस वर्षको मेलामा उत्पादन, वितरण, प्रविधि, एआई, स्ट्रिमिङ, स्टोरी टेलिङजस्ता विषयहरूमा विचारमन्थन गरियो। यो मेला नयाँ फिल्म अवलोकन गर्न, लगानीका लागि प्रोजेक्ट प्रस्तुत गर्न र फिल्म उद्योगका विज्ञहरूसँग नेटवर्किङ गर्न उपयुक्त प्लेटफर्मको रूपमा परिचित छ। कार्यक्रममा विश्वभरका ६,००० भन्दा बढी सफल निर्माता, निर्देशक, सिनेमाटोग्राफर, सम्पादक, वितरक, र उच्च अधिकारीहरूको उपस्थिति रह्यो। अमेरिकन फिल्म मार्केटका सिइओ जिन प्रिवेटका अनुसार यस वर्षको मेलामा अर्बौं डलरको व्यापारिक सम्झौता भएको छ।

नेपाली चलचित्रकर्मीहरूको पहुँचभन्दा बाहिर रहेको यस प्रतिष्ठित मेलामा नेपाली प्रतिनिधिको उपस्थिति सीमित रहन्छ। यस वर्ष भने, नेपाली चलचित्र तथा म्युजिक भिडियोका चर्चित सम्पादक निशान घिमिरेले आफ्नो कम्पनी ‘राड स्टुडियो’ मार्फत सहभागिता जनाउँदै नेपाली चलचित्र उद्योगलाई प्रतिनिधित्व गरे।

निशानले इटालियन आर्ट भिडियो, नभडा फिल्म, बृटिस भर्जिन आइल्याण्ड फिल्म कमिसन, टोकियो फिल्म कमिसन, हलिउड तथा बलिउडका फिल्म निर्माताहरूसँग भेटघाट गरे। उनले नेपाली फिल्मको कथा, प्रविधि र छायांकनस्थलबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय फिल्म निर्माताहरूको ध्यानाकर्षण गर्न सफल भएको बताएका छन्। उनले आफ्नो अनुभवलाई आगामी प्रोजेक्टहरूमा उपयोग गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मलाई थप उजागर गर्ने उद्देश्य राखेका छन्।

घिमिरेको भनाइअनुसार, अमेरिकन फिल्म मार्केटको सहभागिताले नेपाली चलचित्रलाई विश्व चलचित्र उद्योगसँग सहकार्य गर्न, नयाँ प्रविधिहरूमा अब्बल बन्न र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

यसअघि पनि निशान घिमिरेले लन्डनमा आयोजित ‘फोकस २०२३ मिट दी मेकर्स’ सम्मेलनमा भाग लिएका थिए। नेपाली चलचित्र र म्युजिक भिडियो सम्पादनमा दुई दशकभन्दा लामो अनुभव भएका घिमिरे नेपाली फिल्म क्षेत्रमा सफल सम्पादकका रूपमा परिचित छन्। उनले सम्पादनमा देखाएको सिर्जनशीलताले फिल्म र भिडियोको स्तरमा उल्लेखनीय सुधार ल्याएको छ।

उनको सम्पादकीय क्षमताले धेरै निर्देशकहरूलाई नेपाली चलचित्र उद्योगमा स्थापित हुन सहयोग पुर्‍याएको छ भने उनले सिर्जना गरेका धेरै म्युजिक भिडियो र फिल्महरू दर्शकबीच लोकप्रिय बनेका छन्। निशानले आफ्नो सम्पादन कलाका लागि राष्ट्रियस्तरका थुप्रै अवार्डहरू जितिसकेका छन्। उनी सफल सम्पादक मात्र नभई कुशल निर्देशकका रूपमा पनि उभिएका छन्।

निशानको योगदानले नेपाली कला, संस्कृति र चलचित्रलाई विश्वमञ्चमा पुर्‍याउन थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै