‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने

0 Shares

‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको पोस्टरमा ‘महाभोज’का प्रमुख तीन पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने देखिन्छन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ। दयाहाङ दौरा-सुरुवाल, ढाका टोपी र माला लगाएको अवस्थामा देखिन्छन्। उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ। पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित मुद्रामा देखिन्छन् भने आर्यन अनिश्चितता, डर वा असहजताको भावमा प्रस्तुत भएका छन्। यी तीनै पात्रको अनुहारमा देखिने भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ।

फिल्मका निर्देशक दिनेश राउत हुन्, जसको निर्देशन शैली सशक्त सामाजिक सन्देश र कथा प्रस्तुतिमा आधारित रहँदै आएको छ। यो उनको आठौँ फिल्म हो। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन्। कथावस्तु तथा पटकथा सुवेदीले लेखेका हुन्।

यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारहरूको अभिनय हेर्न पाइनेछ।

‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाज पर्दामार्फत उजागर गर्दैछ।

सम्बन्धित समाचार

सबै