
एक जना निर्माताले आफ्नो फेसबुक वालमा लामो समय बितिसक्दा पनि स्क्रिप्ट नपाइएकोमा गुनासो व्यक्त गरेका छन्। अब ती निर्माता को हुन् भन्नेमा नेपाली फिल्म उद्योगका जानकारहरू अनभिज्ञ छैनन्—उनीहरू जानकार नै छन्।
अन्ततः यस्ता चल्तीका र इतिहास बनाएका निर्माताले स्टाटस लेखेर बह पोख्नुपर्ने अवस्था किन आइपर्यो त?
सोको जवाफ खोज्ने प्रयास हामीले गरेका छौं। घटनाका पात्रबारे पूरा जानकार भएतापनि हामी नाम उल्लेख नगरी घटनाको विवरण सार्वजनिक गर्न चाहन्छौं। स्रोतका अनुसार निर्माणमा संलग्न ती निर्माता र ती लेखकका नजिकका मान्छेहरूलाई सबै कुरा थाहा छ—यो कुनै रहस्य होइन।
लेखकले राम्रै पारिश्रमिक लगिसकेका छन्, तर स्क्रिप्ट उनी आफैंले तोकेको समयसीमा भन्दा अलिकति होइन निकै ढिला भइसकेको छ। यसैबीच ती लेखकले निर्देशक बन्ने कुरा पनि सार्वजनिक भइसकेको छ। यसले गर्दा “स्क्रिप्ट कहिले पाउने?” भन्नेमा ती निर्माता अन्योलमा छन्।
उनी चाहन्थे यो फिल्मको सुटिङ पहिला सकेर रिलिज गर्ने अनि अरु फिल्म गर्ने, तर पर्खंदा–पर्खंदा थाकिसकेका उनले अहिले अर्को फिल्मको सुटिङ सकेर पोस्ट-प्रोडक्सनको काम गरिरहेका छन् । उनी ढुक्क छन्—यो फिल्मको रिलिजअगाडि पनि स्क्रिप्ट पाइँदैन। त्यसैले उनी हाल अर्को स्क्रिप्टको काममा लागेका छन्, जुन अहिले लगभग सम्पन्न हुने चरणमा पुगिसकेको छ।
प्राप्त जानकारी अनुसार, ती लेखक २४ घण्टा अनलाइन देखिए पनि न त फोन उठाउँछन्, न त पठाइएको म्यासेज हेर्छन्। सुरुवातमा ‘हप्ता दिन, अब हप्ता दिन’ भन्दै आएका ती लेखकसँग संवाद नभएको एक महिनाभन्दा बढी भइसकेको छ।
यसबाहेक, ती निर्माताले लेखकप्रति यति विश्वास गरे कि कुनै कागजी सम्झौता नगरी ५ लाख रुपैयाँ सिधै बुझाइदिए।
बुझिएअनुसार, अब केही दिनभित्र पनि लेखक सम्पर्कमा नआए पत्रकार सम्मेलन गरेर सोको जानकारी सार्वजनिक गर्ने र आफ्नो पैसा फिर्ता माग्ने सोचमा निर्माता पुगेका छन्।
समयमै स्क्रिप्ट नआउँदा केही प्राविधिकले आफूले अफर पाएका अन्य प्रोजेक्टहरू छोड्नुपरेकोमा उनीहरू अचम्मित छन्।
नेपाली फिल्म क्षेत्रमा यस्ता गैरजिम्मेवार घटना नयाँ होइनन्। यस्ता घटना धेरै छन्। नेपाली फिल्म व्यवसाय व्यावसायिक बन्न नसकेकोमा यस्ता घटनाले पनि भूमिका खेलेका छन्।
लिएको काम र दायित्व पूरा नगरेपछि कसरी अगाडि बढ्न सकिन्छ? यस्ता प्रवृत्तिहरू कायम रहने हो भने बल्लबल्ल चासो देखाउन थालेका ठूला र निरन्तर लगानी गर्न सक्ने समूहहरू हच्किने सम्भावना उच्च छ।
कृपया व्यावसायिकता प्रदर्शन गरौं।