भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ अब युट्युबमा

0 Shares

भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित नेपाली फिल्म ‘आचार्य’ अब युट्युबमा रिलिज भएको छ। बुधवारदेखि यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भएको हो।

फिल्ममा भक्तराज आचार्यको भूमिका उनका छोरा र लोकप्रिय गायक सत्यराज आचार्यले निर्वाह गरेका छन्। फिल्मका निर्देशक प्रशान्त रसाइली हुन्।

करीब १३ वर्षअघि पहिलो पटक प्रदर्शन भएको ‘आचार्य’ फिल्मलाई भजन शिरोमणि प्रति श्रद्धाञ्जली स्वरुप गत असार ७ गते पुनः सम्पादन गरी सिनेमा हलमा प्रदर्शन गरिएको थियो। सत्यराज आचार्यका अनुसार, २०६८ साल असोज ६ गते मूलतः प्रदर्शन गरिएको यो फिल्म अहिले पुनः परिमार्जनसहित दर्शकमाझ पुनः ल्याइएको हो।

भक्तराज आचार्यको जीवनका प्रमुख पाटाहरूलाई समेटेर निर्माण गरिएको यस फिल्ममा गायक सत्यराजसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, र सौगात मल्ललगायतका ख्यातिप्राप्त कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।

स्वर्गीय गायक भक्तराज आचार्यको निधन ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते भएको थियो। ‘आचार्य’ फिल्मले नेपाली संगीत प्रेमीहरूलाई भावनात्मक रूपमा झकझक्याउने प्रयास गरेको छ।

सम्बन्धित समाचार

सबै