दीपेन्द्र लामा निर्देशित सोसल कमेडी सिनेमा ‘दुखी आत्मा’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
घोषणा अनुसार सिनेमा फागुन २ गते, अर्थात् भ्यालेन्टाइन्स डेमा प्रदर्शन हुने भएको छ।
शुक्रबार, निर्माण ब्यानर क्लक वर्क क्रिएसन्स ले सिनेमाको टाइटल डिजाइनसहित प्रदर्शन मिति घोषणा गरेको हो।
सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, र रेअर राई जस्ता चर्चित कलाकारहरूले अभिनय गरेका छन्।
सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्।
दीपेन्द्र लामा र हिमाल कडरियाको यसअघि निर्माण गरिएको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो। ‘दुखी आत्मा’ उनीहरूको दोश्रो सहकार्य हो।
फिल्मको छायांकन काठमाडौंको वरपर गरिएको हो, जसलाई आलोक शुक्लाले खिचेका छन्। यो सिनेमा आरआर फिल्म्स ले वितरण गर्नेछ। निर्माणको घोषणादेखि नै चर्चा बटुल्दै आएको ‘दुखी आत्मा’ लाई प्रतिक्षित सिनेमाका रूपमा हेरिएको छ।
‘दुखी आत्मा’ हास्यव्यंग्यको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्ने सिनेमाको रूपमा चिनिने अपेक्षा गरिएको छ। दर्शकहरूले यसलाई विशेष चासोका साथ प्रतिक्षा गरिरहेका छन्।