
‘पूर्णबहादुरको सारङ्गी’ले आफ्नो आक्रामक व्यापार जारी राखेको छ । सिनेमा देशभर अधिकाशंरुपमा हाउसफुल चलिरहेको छ ।
कार्तिक १५ गते रिलिज भएको सिनेमाले १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
योसँगै एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको छ । यसका साथमा ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको इतिहास, सर्वाधिक शो पाउने सिनेमाको रेकर्ड समेत राखिसकेको छ। सिनेमाले ७० दिन लगाएर ‘कबड्डी ४’ले बनाएको ग्रस कमाइको रेकर्ड साता-दश दिनमै तोडेको थियो। हाल सिनेमाले देशभर ३५० भन्दा धेरै शो पाइरहेको छ ।
यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन डायस्पोरा बजारमासमेत नयाँ-नयाँ कीर्तिमान कायम गरेको छ। सिनेमाले विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड बनाउन सफल त भयो नै योसँगै डायस्पोरामा सबैभन्दा धेरै शो पाउने सिनेमा समेत बन्न सफल भएको छ ।
‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ’, निर्माता पौडेलले भने, ‘नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ।’
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह हाल मोफसल यात्रामा रहेको छ ।
यो भ्रमणमा निर्माताहरुसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।
यही दौरान सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘गलत तथ्यांक’ दिएको भन्दै मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शन रोक्ने निर्णयसमेत गरेको छ ।
शतप्रतिशत कमाइ गरेपनि ती हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा हिजो (शनिबार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको हो ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।