‘डोरी’मा अनुबन्धित भइन् अञ्जना बराइली

0 Shares

सर्वकालिन वक्सअफिस सफलता चाखिरहेको ‘पूर्ण बहादुरको सारङ्गी’की मुख्य महिला कलाकार अञ्जना बराइली नयाँ सिनेमामा अनुबन्धित भएकी छन्।

उनी नयाँ सिनेमा ‘डोरी’मा आबद्ध भएकी हुन् । सिनेमाका लागि उनले यसै साता कागजी सम्झौता गरेकी हुन् । सिनेमामा अञ्जनासँगै अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन्।

सिनेमाका कार्यकारी निर्माता राज थापाका अनुसार सिनेमामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई लगायत निश्चित भइसकेका छन् ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाका निर्देशक अरुण लामा हुन् । स्क्रिप्ट पनि उनले नै लेखेका हुन् ।

‘मिस्टर एक्स’ले निर्माण गर्ने सिनेमामा राजनराज सिवाकोटीको सङ्गीत, सौरभ लामाको छायांकन तथा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ ।

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण रहने बताइएको सिनेमा सन् २०२५ मा रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

‘डोरी’ले परिवारको आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णयहरू लिने एउटा सङ्घर्षशील युवाको कथा बोल्ने भनाइ निर्देशक लामाको छ । लामाका अनुसार सिनेमामा हाँसो, त्रास, असफलता र सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ ।

सम्बन्धित समाचार

सबै