‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन बिहारको पटनामा, यस्तो छ कारण

0 Shares

आफ्नो करियरकै सर्वाधिक प्रतिक्षित सिनेमा ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गर्न अभिनेता अल्लु अर्जुन नेपालसँग सिमा जोडिएको भारतीय राज्य बिहार रोजेका छन् ।

ट्रेलर सार्वजनिक गर्ने कार्यक्रमका लागि पटनाको गान्धी मैदानमा भव्य मञ्च बनाइएको छ।

उनी आइतबार पटना आइपुगेका हुन्।

सामान्यतया दिल्ली, मुम्बई, चेन्नइ र बैंगलोरमा भारतीय सिनेमाका ट्रेलर रिलिज कार्यक्रमहरु गरिने गरिएको छ। यस्तोमा ‘पुष्पा २’ले बिहारलाई रोज्नुलाई अर्थपुर्ण मानिएको छ। भारतीय संचार माध्यमले यस कार्यक्रमलाई अहिले सम्मकै भव्य ट्रेलर रिलिज समारोह भनेर लेखेका छन् ।

डब सिनेमाबाट उत्तर भारतीय दर्शकहरुमाझ पहिलेदेखि नै लोकप्रिय अल्लु अर्जुनको सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ले उनलाई  प्यान इण्डिया अभिनेताका रुपमा स्थापित गराउने काम गर्‍यो। उनी आफ्ना हरेक सिनेमामा पर्दामा प्रस्तुत हुने अलग शैलीका व्यक्तित्व बोकेका चरित्रमा देखिने भएकाले उनी विशेषगरी युवा दर्शकमाझ धेरै लोकप्रिय छन् ।

‘पुष्पा’ सिनेमाले नै अल्लु अर्जुनलाई तेलेगु सिनेमाबाट भारतभर परिचित गराउन सर्वाधिक सहयोग गर्‍यो। सुकुमार निर्देशित यो सिनेमाबाट नै अल्लुले भारतको राष्ट्रिय चलचित्र अवार्ड पनि जिते ।

                                                                      पुष्पा २ को ट्रेलर लन्चका लागि बिहारको पटनामा तयार पारिएको भव्य स्टेज

‘पुष्पा’को ग्रामिण पहिरनसहित उसले पर्दामा प्रस्तुत गरेको करिष्माइ अन्दाजले बिहार लगायतका हिन्दीभाषी बहुल राज्यमा अल्लुले धेरै लोकप्रियता बटुले।

त्यसैले पनि निर्माताले बिहारलाई ट्रेलर रिलिजका लागि रोज्नुको प्रमुख कारण बनेको बताइन्छ। यो फिल्म बिहारको स्याटेलाइट टेलिभिजनमा पनि ठूलो हिट भयो ।

पुष्पा निर्माणपक्षको यो पछिल्लो निर्णयले व्यापारिक रुपमा पनि ठूलो अर्थ राख्ने बताइन्छ। यसले यो श्रृंखलाका बारेमा बिहार, उत्तर प्रदेश, झारखण्ड लगायतका राज्यमा प्रचारमा ठूलो भूमिका खेल्नेछ।

भारतीय समय अनुसार ६ बजेर ३ मिनेमा सिनेमाको ट्रेलर सार्वजनिक हुँदैछ भने सिनेमा डिसेम्बर ५ मा रिलिज हुनेछ। यो सिनेमालाई यस वर्षकै सर्वाधिक प्रतिक्षित भारतीय सिनेमाको सूचिमा राखिएको छ। सिनेमाले कीर्तिमानी व्यापार गर्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार

सबै