आगामी महिना रिलिज हुने एक फिल्मको प्रचारका लागि दुई जना कलाकारले चर्चित हास्य शो ‘कमेडी दरबार’मा सहभागी हुन आनाकानी गरेका छन्।
दुईमध्ये एकले केही समयअघि मात्र शोमा सहभागी भएकाले जान अस्वीकार गरेका हुन् भने अर्काले आफू संलग्न शोको प्रतिस्पर्धी शो भएको कारण देखाउँदै जान अनिच्छा व्यक्त गरेको बताइन्छ।
दुई कलाकारको यस्तो भनाइपछि सिनेमा निर्माणमा करोडौं खर्च गरिसकेका निर्माता भने तनावमा परेका छन्।
ती निर्मातालाई आफ्नो सिनेमाबाट ठूलो आशा छ र उनी त्यसका लागि प्रचारका कुनै मञ्च छोड्न तयार छैनन्। तर कलाकारले असहयोग गर्दा उनी आफ्नो सिनेमालाई लिएर चिन्तित बनेका छन्।
आगामी महिना रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई सम्भावित व्यापार गर्न सक्ने सिनेमाका रूपमा हेरिँदै आएको छ।
सुन्नेजत्तिले ती दुई कलाकारको निर्णयलाई केटाकेटीपना र गैरजिम्मेवारीपना भनेका छन्।
कलाकारले कुनै पनि सिनेमामा संलग्न भएपछि सिनेमाको प्रचारप्रसारमा व्यापक सहभागिताको अपेक्षा नयाँ होइन। तर पनि बेलाबेलामा कलाकारहरूको यस प्रकारको नखराले मेकरहरू तनावमा पर्ने गरेका छन्।
स्मरणीय के छ भने, भदौ ६ गते रिलिज हुने ‘माग्ने राजा’ टिम आफ्नो सिनेमाको प्रचारका लागि ‘कमेडी दरबार’ पुगिसकेको छ, र यो त्यही शो हो जहाँ सयौं टेक खाएका कारण निकालिएको भनेर हल्ला चलेकी मिस पबि एक प्रमुख कलाकार हुन्।
यहाँ त राम्रै व्यावसायिकता देखियो, यस्तोमा ती दुई कलाकारलाई चाहिँ वरिष्ठ हुनुपर्ने के रहेछ, सायद ती निर्माता यस्तै सोचिरहेका होलान् यस समय।
आशा गरौं ती कलाकारले आफ्नो निर्णय परिवर्तन गर्नेछन् र निर्मातालाई साथ दिनेछन्।